पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ
काठमाडौं, १५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले ओली पक्राउ गरेको पुष्टि गरे । ‘हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नियन्त्रणमा लिएका छौं’ ती अधिकृतले भने ।
उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो । ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान प्रहरीले भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिसकेको छ।
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।
नेपालको इतिहासमा मुलुकको कार्यकारी प्रमुख ज्यानमुद्दामा पक्राउ परेको यो पहिलो घटना हो । यसअघि कतिपय अवस्थामा राजनीतिक प्रकृतिका घटना र प्रदर्शनमा पूर्वप्रधानमन्त्रीहरु प्रहरी नियन्त्रणमा रहेपनि फौजदारी जाहेरीको अनुसन्धानका सिलसिलामा पक्राउ परेका थिएनन् ।
तीन दिनअघि मिडियाहरुमा सार्वजनिक भएको जाँचबुझ आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८२ को कसुर गरेको आरोपमा पक्राउ गरेको हो ।
उक्त दफामा ‘हेलचक्र्याईं गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ । हेलचेक्राईपूर्वक कसैको ज्यान मार्ने काम गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैंयासम्म जरिवाना हुनसक्छ ।
नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ लिएको केही घण्टाभित्रै बसेको मन्त्रिपरिषद बैठकले सुरक्षाकर्मीहरु बाहेकका हकमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले पेश गरेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको निर्णय प्रमाणिकरण नहुदै गृहमन्त्री सुदन गुरुङले भदौ २३ को घटनामाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए । त्यसपछि आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय कार्यान्वयन र त्यसपछिको पत्राचारका कागजात तयार गर्न कानून सचिव पारश्वर ढुंगाना रातभर खटिएका थिए ।
जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा मात्रै कुनैपनि व्यक्तिलाई फौजदारी अभियोगमा पक्राउ गर्न मिल्दैन । महान्यायाधीवक्ता कार्यालय सम्वद्ध स्रोतका अनुसार, केही मृतक र घाइतेका परिवारले पेश गरेको जाहेरीलाई प्रहरीले ओलीलाई पक्राउ गर्ने आधार बनाएको हो ।
प्रहरीले ओलीलाई पक्राउ गर्नुअघि जिल्ला अदालतबाट पक्राउ अनुमती नलिएको स्रोतले बतायो । त्यस्तो अवस्थामा जरुरी पूर्जीका आधारमा पक्राउ गरेको हो ।
पक्राउ गर्नासाथ उनलाई पक्राउ पूर्जी दिनुपर्छ भने त्यसपछि स्वास्थ्यपरीक्षण गरेर प्रहरीले हिरासतमा पठाउछ । अब उनलाई २४ घण्टाभित्र मुद्दा हेर्ने अदालत अर्थात जिल्ला अदालत काठमाडौंमा पठाउछ ।














प्रतिक्रिया दिनुहोस्