नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ चैत १२ मा
काठमाडौं, ४ चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ मा गराउने तयारी भएको छ ।
समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई बिहीबार निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिँदैछ । बिहीबार नै निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी पनि छ । यसको जानकारी आयोगले संघीय संसद् सचिवालयलाई पनि गराउँछ ।
निर्वाचन आयोगबाट जानकारी प्राप्त भएसँगै शपथका लागि मिति सार्वजनिक गर्ने तयारीमा रहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार यी लगायतका विषय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल समेत गरिँदैछ ।
‘निर्वाचन आयोगबाट चैत ५ गते निर्वाचन प्रतिवेदन प्राप्त भयो भने भोलिपल्टको पत्रिकामा शपथको सूचना निकाल्ने गरी तयारी गरिरहेका छौं’ गिरीले भने ।
उनका अनुसार चैत १२ गते शपथ गराउने तयारी छ । उनले भनेका छन्, ‘१२ गते शपथ गराउने तयारी छ । यो विषयमा राजनीतिक दलका प्रतिनिधिहरूसँग पनि छलफल हुन्छ ।’
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलको रुपमा आएका छन् । १६२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दलको रुपमा आएको छ । कांग्रेस ३८ सिटसहित दोस्रो, ३५ सिटसहित एमाले दोस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी तेस्रो दलको रुपमा रहेका छन् ।
यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौं दलको रुपमा रहेको छ भने राप्रपा ५ सिटसहित छैठौं दलको रुपमाा छ । एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।














प्रतिक्रिया दिनुहोस्