चौरजहारीका नगर प्रमुख र असिस्टेन्ट सब–इन्जिनियर शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, ३ चैत । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करार सेवा नवीकरणको लागि घुस लिएको र दिएको आरोपमा आज मेयर वादी र असिस्टेन्ट सब–इन्जिनियर शाहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नगर प्रमुख वादीले आर्थिक वर्ष २०७९०८० मा करार म्याद थप गरिदिने सर्तमा मोहन शाहसँग १ लाख घुस लिएका थिए। शाहले २०८० साउन ८ गते वादीको बैंक खातामा उक्त रकम जम्मा गरेको प्रमाणसमेत पेश भएको जनाइएको छ।
आयोगका अनुसार घुस रकम दिएपछि शाहको असिस्टेन्ट सब–इन्जिनियर पदमा करार म्याद थप गरिएको थियो। तर पुनः आर्थिक वर्ष २०८२र०८३ का लागि नवीकरण गर्न थप रकम मागिएको र उपलब्ध गराउन नसकेपछि शाहलाई सेवाबाट हटाइएको उजुरीमा उल्लेख छ।
अनुसन्धानबाट नगर प्रमुख वादीले आफ्नो पदको दुरुपयोग गर्दै सेवामा निरन्तरता दिलाइदिने नाममा घुस लिएको पुष्टि भएको आयोगको दाबी छ। उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर लगाइएको छ ।
उक्त कसुरमा बिगो १ लाख कायम गरी कैद, जरिवाना र घुस रकम जफतको माग गरिएको छ। साथै सार्वजनिक पदमा रहेका कारण थप सजायको माग पनि गरिएको छ।
यस्तै, मोहन शाहले पनि पदमा निरन्तरता पाउन मोलाहिजा गरी घुस दिएको अभियोगमा सोही ऐनको दफा ३९३० अन्तर्गत कसुर गरेको ठहर गरिएको छ। उनीमाथि पनि बराबर बिगो कायम गरी कैद, जरिवाना र रकम जफतको माग गरिएको छ।














प्रतिक्रिया दिनुहोस्