लामिछानेको मुद्दा फिर्ता प्रकरण ‘हेर्दाहेर्दै’मा, सुनुवाइ मंगलबार पनि निरन्तर

काठमाडौं, २ च्रैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरण सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता भएको रिटमा सोमबार ९चैत २०मा सर्वोच्चमा सुनुवाइ भएको थियो । सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा मुद्दाको सुनवाइ भएको थियो । सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ अवस्थामा राखिएको छ । सुनुवाइ मंगलबार पनि निरन्तर हुने भएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद उत्पन्न भएको हो । महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका हुन् ।

गत पुस ३० गते महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकिलको कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन् । निर्देशनमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता लिन भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्