संसदीय राजनीतिबाट टाढा रहने अध्यक्ष सिके राउतको उद्घोष

काठमाडौं, २ चैत । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रतिनिधिसभा निर्वाचनमा पराजयपश्चात संसदीय राजनीतिबाट टाढा रहने उद्घोष गरेका छन् । अब आइन्दा कुनै पनि संसदीय चुनावमा भाग नलिने उनले उद्घोष गरेका हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले संसदीय राजनीतिबाट सन्यास लिने तर संघर्षको राजनीति जारी राख्ने बताएका हुन् । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने उनले उल्लेख गरेका छन् । यसअघि दुईपटक व्यक्तिगत इच्छाविपरित संसदीय चुनाव लडेको राउतले दाबी गरेका छन् ।

उनी लेख्छन्, ‘दुईपटक व्यक्तिगत ईच्छा विपरीत संसदीय निर्वाचन लडें, एक पटक जीतें, एक पटक हारें । तर दुईटै पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुशी नै छु ।’

आफूले जनमत पार्टीको नेतृत्व पनि अनिच्छापूर्वक स्वीकारेको राउतको भनाइ छ ।

उनले लेखका छन्, ‘२०७५ सालमा ‘स्वतन्त्र मधेश गठबन्धन’ लाई सरकारले बिलकुलै कुनै काम गर्न नदिए पछि र जनतामा जान पूर्णतः रोक लगाए पछि पार्टी खोल्नु पर्यो भनेर हामीले निर्णय गर्यौं । सो पार्टीको अध्यक्ष बन्नका लागि नरेन्द्र प्रसाद चौधरीज्यू सहितका साथीहरूलाई जनकपुरमा बोलाएर पटक–पटक कन्भिन्स गरें । उहाँहरूले न माने पछि मआफैं जनमत पार्टीको अध्यक्ष बन्नु परेको थियो ।’

यसपटक आफू चुनाव नलड्न चाहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्