इरानको हवाई आक्रमणमा परी एक नेपालीसहित तीन जनाको मृत्यु

काठमाडौं, १७ फागुन। इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन् ।

संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन अनुसार, आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक÷एक गरी कूल तीन जना विदेशी नागरिकले ज्यान गुमाएका छन् ।

 

यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले एक नेपालीको मृत्यु भएको जानकारी दिए । यद्यपि मृत्यु हुनेहरूको परिचय भने खुलाएको छैन ।

‘एक जना नेपाली नागरिकको मृत्यु भएको जानकारी सरकारी जानकारी पाएका छौं । हामी उहाँको परिचयबारे थप बुझ्दैछौं,’ क्षेत्रीले भने । रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरिसकेको छ ।

यूएईको शक्तिशाली हवाई रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनहरूलाई आकाशमै नष्ट गरिदिए तापनि ३५ वटा ड्रोनहरू मुलुकका विभिन्न स्थानमा खसेका थिए ।

तीमध्ये २१ वटा ड्रोनहरूले नागरिक बस्ती र भौतिक संरचनालाई निशान बनाउँदा मानवीय क्षति भएको हो ।

यस आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत १५ विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन् ।

मन्त्रालयले घाइतेहरूको अवस्था खतरामुक्त रहेको र उनीहरूको उपचार भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्