मध्यपूर्वमा विकसित युद्धबारे चिन्ता व्यक्त गर्दै सूचित रही सुरक्षा सतर्कता अपनाउनु हुन सभापति थापाको आग्रह

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले मध्यपूर्वमा विकसित युद्धबारे चिन्ता व्यक्त गर्दै सूचित रही सुरक्षा सतर्कता अपनाउनु हुन आग्रह
गरेका छन् । शनिबार फेसबुकमार्फत सभापति थापाले सो घटनाले आफूलाई चिन्तित बनाएको पनि बताएका छन् ।

‘विभिन्न देशहरूमा रहनुभएका सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा झन् संवेदनशील बनेको छ,’ सभापति थापाले भने, ‘यो परिस्थितिबारे सुसूचित रही सुरक्षा सतर्कता अपनाउनु हुन सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा अनुरोध गर्दछु ।’ सुरक्षा नियमको पूर्ण पालना गर्न र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै रहन त्यहाँ रहेका नेपालीलाई उनले आग्रह गरेका छन् ।

‘साथै म नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न आग्रह गर्दछु,’ सभापति थापाले लेखेका छन् ।

अमेरिका–इजरायल आक्रमणपछि इरानले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै प्रतिआक्रमण गरेको पुष्टि गरेको छ । अलजजिराका अनुसार इरानले खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिलाई सीधा निशाना बनाएको जनाएको हो ।

मध्यपूर्वका विभिन्न देशमा अमेरिकाले सैन्य अखडा राखेको छ । इरानले ती अखडालाई निशाना बनाएर आक्रमण गर्दा खाडीमा रहेका लाखौं नेपालीसमेत जोखिममा परेका छन् । सबैभन्दा असर दुबई,कतार र बहराइनमा देखिएको छ ।

इरानको सरकारी वक्तव्यअनुसार अमेरिका आफ्नो भूभाग र नेतृत्व संरचनामाथि भएको आक्रमणमा प्रत्यक्ष संलग्न रहेको निष्कर्षपछि क्षेत्रभर रहेका अमेरिकी सैन्य अखडालाई लक्ष गरिएको हो ।

प्रतिआक्रमण विशेषगरी अमेरिकी सैन्य संरचना रहेका खाडी अरब राष्ट्रहरू—कतार, बहराइन, कुवेत तथा यूएईस्थित अड्डाहरूतर्फ केन्द्रित गरिएको बताइएको छ । ती देशहरूमा अमेरिकी वायुसेना, नौसैनिक र मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ छन्।

प्रतिक्रिया दिनुहोस्