अन्य दलहरू शिथिल बन्दैगएको र कांग्रेसमा प्रवेशको लहर: कांग्रेस

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्ना पक्षमा लहर बढ्दैगएकोजनाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले बिहीबार एक वक्तव्य जारी गर्दै अन्य दलहरू शिथिल बन्दैगएको र कांग्रेसमा प्रवेशको लहर चलेको दाबी जनाएको छ ।
पार्टी कार्यालय सानेतापमा पत्रकार सम्मेलन आयोजना गर्दै जारी गरिएको वक्तव्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्ष्य गरी ‘अतिलोकप्रिय’ र नेकपा एमालेलाई लक्ष्य गरी ‘प्रतिगमन’ पक्ष भनेर टिप्पणी पनि गरिएको छ ।

‘अतिलोकप्रियता र प्रतिगमनका पक्षमा गैरजिम्मेवारी ढंगले आम मनोविज्ञानलाई प्रभावित पार्ने तत्वहरू शिथिल बन्दै गएका छन्,’ वक्तव्यमा भनिएको छ, ‘नेपाली कांग्रेसप्रति चौतर्फी आकर्षण बढेको छ ।’ अहिले विभिन्न दलमा उच्चस्तरको भूमिकामा रहेका व्यक्तिहरू कांग्रेसमा प्रवेश गर्ने लहर चलेको पनि वक्तव्यमा उल्लेअ गरिएको छ ।

यही क्रममा रास्वपा नवलपरासी पश्चिमका सभापति महेन्द्रसिँह ठकुरी, नेपाली कम्युनिस्ट पार्टीका नेता धनलाल गुरुङसहितका नेता कांग्रेस प्रवेश गरेको विषय पनि वक्तव्यमा उल्लेख छ । ‘स्वतन्त्र हैसियतमा रहेका सामाजिक व्यक्तित्व, जेनजी आन्दोलनका अगुवाहरू समेत कांग्रेसमा प्रवेश गरी चुनावी अभियानमा जोडिनेछन्,’ वक्तव्यमा भनिएको छ ।

‘कांग्रेसका पक्षमा जनलहर व्यापक बनिरहँदा अपेक्षित चुनावी परिणामको पूर्वाभास भइसकेको छ,’ वक्तव्यमा भनिएको छ, ‘१६५ क्षेत्रमै नेपाली कांग्रेसका कर्मठ र लोकप्रिय उम्मेदवारहरूले संगठित र सुदृढ पार्टीपंक्ति एवं शुभचिन्तकहरूको साथमा मतदाताहरूसँग सघन अन्तरक्रिया गरिरहनु भएको छ ।’

बदलिँदो राजनीतिक संक्रमणलाई चिर्दै मुलुकमा थिति सम्हाल्ने दल कांग्रेस हो भन्ने केहि दिनमा जनमतबाटै प्रमाणित हुने पनि दाबी गरिएको छ । यसले पाटीएलाई थप बलियो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्