माओवादीले मान्छे मार्दा नक्कली शरणार्थी बनेर विदेश गएका अहिले चटक गर्दैछन्ः सभापति थापा
काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले आसन्न निर्वाचनमा एजेन्डामा बहस नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।
आफूले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसँग एउटै मञ्चमा बसेर आगामी पाँच वर्षका एजेन्डामा छलफल गरौँ भनेर प्रस्ताव राखेको उनले बताए ।
‘तर, यहाँ त बेलुका भट्टीमा बसेर दुई जना एकअर्कालाई गाली गरेको जस्तो एउटाले एउटा कुरा भनेको छ, अर्कोले अर्को कुरा भनेको छ । मुद्दामा कुनै बहस छैन,’ उनले भने, ‘एकथरीले आयो एकथरीलाई गाली गर्यो ।’
यस्तोमा रास्वपा सभापति रवि लामिछानेलक्षित गर्दै उनले अगाडि भने, ‘जम्मा एउटा कुरा भन्दिए पुग्यो( यो देश अर्काले बिगार्दियो । म आउँछु म सम्हाल्छु ।’
हिजो कर्णालीमा मान्छे मरिरहँदा नक्कली शरणार्थीको कागज बनाएर विदेश गएका मान्छे अहिले आएर हल्लाखल्ला गरिरहेको पनि उनले बताए । ‘हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहँदै गर्दा नक्कली शरणार्थीको कागज बनाएर हिजो बाहिर गएर मस्ती मारिरहेकाहरू आज हाम्रो बीचमा आएर घुमेर पाँचवर्षमा चटक गर्छु भन्दैगर्दा कम्तीमा कणालीले नपत्याओस्,’ सभापति थापाले भने ।
ठुलो कोलाहल र हल्ला सामाजिक सञ्जालमा भएको बताउँदै सभापति थापाले बताए । उनले अगाडि भने, ‘गाउँगाउँ पुगेको छ, सहरमा मात्रै छैन । घरमा बसेर युट्युब हेर्दैगर्दा, फेसबुक हेर्दैगर्दा, बाहिर वैदेशिक रोजगारीमा गएका साथीहरूलाई आग्रह गर्न चाहन्छु, त्यहाँ बसेर नेपालका समाचारमा पीडा व्यक्त गर्नुभएको छ, मान्छु । तर यस्ता हल्लाको धरातल हेरिदिनुहोस् ।’














प्रतिक्रिया दिनुहोस्