बैतडीमा रास्वपा र एमालेका कार्यकर्ताबीच झडप, दुई जना घाइते
काठमाडौं, १४ माघ। बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी दुई जना घाइते भएका छन् ।
चुनाव प्रचार–प्रसारका लागि घरदैलो गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई जना कार्यकर्ता घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ‘जिल्लाको डिलासैनी गाउँपालिका–७ को लेक टोलमा चुनाव प्रचार–प्रसारको क्रममा दुवै पक्षबीच झडप भएको हो,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले भने । उनका अनुसार झडपमा डिलासैनी–७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य अन्दाजी २८ वर्षीय जनक धामी र सोही ठाउँका अन्दाजी २६ वर्षीय माधव धामी घाइते भएका छन् ।
घाइते भएका जनकको टाउको र निधारमा चोट लागेको, माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरी निरीक्षक सिंहले बताए । उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ । घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक भुवन तिमिल्सेनाको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यसैबीच घटनाको छानबिनका लागि प्रहरीले पाँच जनालाई पक्राउ गरेको जनाएको छ । ‘५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक सिंहले भने, ‘छानबिन र अनुसन्धानपछि घटनाबारे थप विषय प्रष्ट हुन्छ ।’
प्रहरीले पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बेला एमाले र रास्वपा दुवैले घटनाबारे एकले अर्कोलाई आरोप लगाएका छन् । रास्वपाका कार्यकर्ताहरूले आफ्ना युवाहरूमाथि आक्रमण गरेको राष्ट्रिय युवा संघ नेपाल बैतडीका अध्यक्ष यज्ञराज भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एमालेको चुनावी प्रचार–प्रसारमा रहेको बेला युवाहरूको टोलीमाथि रास्वपामा क्रियाशील समूहहरूले साङ्घातिक हमला गरेको र उक्त आक्रमणमा परी युवा संघ बैतडीका नेता जनक धामी र माधव धामी घाइते भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘तत्काल आपराधिक घटनामा संलग्न अराजक समूहलाई कानुनी दायरामा ल्याउन राष्ट्रिय युवा संघ नेपाल प्रशासनसमक्ष अनुरोध गर्दछ,’ जिल्ला अध्यक्ष भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रास्वपाको नाममा गाउँ–घरमा अराजक गतिविधि गर्ने, चरित्र हत्या गर्ने र सामाजिक सञ्जालमा नेकपा ९एमाले० र एमालेका नेता–कार्यकर्ताविरुद्ध अफवाह फैलाउने र मान-मर्दन गर्ने शक्ति, समूह र व्यक्तिहरू समयमै सचेत र सजग नभएमा राष्ट्रिय युवा संघ नेपाल इँटको जवाफ पत्थरले भनेझैँ जवाफी प्रतिकारमा उत्रन बाध्य हुनेछ।’
रास्वपा जिल्ला सभापति भीम नाथले जारी गरेको विज्ञप्तिमा भने एमालेका कार्यकर्ताहरूले आफ्ना कार्यकर्ताहरूलाई कुटपिट गरेको उल्लेख छ ।
उनले जारी गरेको विज्ञप्तिमा डिलासैनी गाउँपालिका वडा नं. ७ मल्लालेकमा चुनाव प्रचारका क्रममा मोटरसाइकलमा सवार रा।स्वा।पा। डिलासैनी(०७ का सभापति लाल सिंह धामी र सदस्य लोकेन्द्र धामीमाथि जिपमा सवार नेकपा ९एमाले० का कार्यकर्ताले आक्रमण गरेको उल्लेख छ ।
‘घटनाको यथाशीघ्र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न हामी माग गर्दछौं। घाइते नेताहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पार्टीपंक्तिलाई संयम र एकताका साथ लोकतन्त्रको रक्षामा उभिन आह्वान गर्दछौं,’ जिल्ला सभापति नाथले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्