कैलाली ५मा प्रेमबहादुर आले कति बलियो, के-के छन् मुख्य एजेण्डा ?

रञ्जित धमला : कैलाली/काठमाडौं, १२ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली–५ मा १५ जनाको उम्मेदवारी परेको छ । प्रमुख राजनीतिक दलहरूका आ–आफ्ना उम्मेदवार मैदानमा उत्रि जनताको घरदैलोमा मत माग्न व्यस्त छन् । कुल मतदाता संख्या १,१०,५३९ रहेका छन् । पुरुष ५४,६३२ ( ४९.४२ प्रतिशत) र महिला ५५,९०४ (५०.५७ प्रतिशत ) छन् ।
यस पटक नेपाली कांग्रेसबाट नरनारायण शाह (मनु), नेकपा (एमालेंं) बाट यज्ञराज ढुंगाना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रेमबहादुर आले तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) बाट आनन्दबहादुर चन्द उम्मेदवार रहनु भएको छ ।

यस क्षेत्रको निर्वाचन प्रतिस्पर्धालाई निकै चासोपूर्ण रूपमा हेरिएको छ । डोटी जिल्लाबाट तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका तथा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएका नेता प्रेमआले यसपटक नयाँ निर्वाचन क्षेत्र कैलाली–५ बाट उम्मेदवार बन्नु भएकोले यो निर्वाचन क्षत्रे झन रोचक भएको हो ।

उहाँ २०७० र २०७४ सालमा नेकपा (एमालें बाट तथा २०७९ सालमा नेकपा (एकीकृत समाजवादीं) बाट निर्वाचित हुनुभएको थियो । यसपटक नेकपाले उहाँलाई कैलाली–५ बाट उम्मेदवार बनाएको छ ।

आफ्नो चुनावी अभियानका क्रममा नेता आलेले विगतमा मन्त्री हुँदा कैलाली जिल्लाका लागि गरेका कामहरूलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्दै आउनु भएको छ ।

उहाँले डोटीबाट निर्वाचित भएर वनमन्त्री भएका बेला कैलालीसहित चुरे क्षेत्रको वन विनाश रोक्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्दै रुख कटान गरी काठ तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभएको छ ।

त्यसैगरी कोरोना महामारीको कठिन समयमा सेती प्रादेशिक अस्पतालमा अक्सिजनको व्यवस्था गराएर यहाँका नागरिकको जीवन रक्षा गर्न योगदान दिएको उहाँको भनाइ छ ।

धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकासका लागि बेहडा बाबा मन्दिरमा बजेट विनियोजन गरिएको, धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्न बजेट विनियोजन गरी हाल टर्मिनल लगायतका भवन, ब्यागेज बेल्ट लगायतका नयाँ भौतिक संरचनाहरू निर्माण भइसकेको उल्लेख गर्दै आउनु भएको छ ।

पूर्वमन्त्री आले भन्नुहुन्छ, “म विगतमा मन्त्री भएको बेला कैलाली जिल्लामा थुप्रै विकासका काम गरेको छु । म जनताको सेवामा खटिने व्यक्ति हुँ । मैले गरेको विकास जनताले छर्लङ्ग रूपमा देखिरहनु भएको छ ।”

आगामी कार्यकालका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै आलेले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, गेटा मेडिकल कलेजमा एमबीबीएस तहको पठनपाठन सुरु गराउने तथा फाप्ला रंगशालाको निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

त्यसैगरी उहाँले धनगढीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाई पूर्णता दिने, धनगढीको जिरो प्वाइन्टबाट खुटिया, दिपायलहुँदै बझाङको उरै भञ्ज्याङसम्म जोड्ने रणनीतिक सडक निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको स्पष्ट पार्नुभएको छ ।

“धनगढीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुका साथै सुदूरपश्चिमका दुर्गम जिल्लालाई सडक सञ्जालमार्फत जोड्नु मेरो सपना हो,” आलेले भन्नुभयो, “यी काम पूरा गर्नकै लागि म पुनः जनताको मत माग्दै चुनावी मैदानमा होमिएको छु ।”

प्रतिक्रिया दिनुहोस्