बसन्तपुरमा चीर ठड्याइयो, आजदेखि होली सुरु
काठमााडौ., १२ फागुन । रंगको पर्व होली अर्थात फागुपूर्णिमा पर्व आजदेखि सुरु भएको छ । काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै आजबाट रङ्गहरुको पर्व होलीको उत्सव औपचारिक रुपमा सुरु सुरु हुने परम्पार छ ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।
यही प्रचलन अनुसार मंगलबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।
आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रङ्गीचङ्गी कपडाका टुक्रा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ गते र १९ गते परेको छ । फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराईरमधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।
बसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याइएको अवसरमा नेपाली सेनाको एक टोलीले मंगलधुन बजाउनुका साथै बन्दुक पड्काएर हर्ष बढाइँ गरेको थियो ।
चीर ठड्याएको दृष्य हेर्न बसन्तपुर दरबार क्षेत्रमा स्थानीय भेला भएका थिए । उनीहरुले एकअर्कालाई अबिर दलेर खुसीयाली मनाएका छन् ।
















प्रतिक्रिया दिनुहोस्