सूर्यदर्शन सहकारीका पीडितले रास्वपा उम्मेदवारलाइ बच्चा पढ्ने स्कुलको बिल दिएपछि तरंग
काठमाडौं, ९ फागुन । सूर्यदर्शन सहकारीका एक जना पीडित कृष्ण जैसीले रास्वपा उम्मेदवार विना गुरुङलाई उनको बच्चा पढ्ने स्कुलको बिल दिएको छ। पोखरा लेडी जेसिजले कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरूसँग सार्वजनिक बहस कार्यक्रम आयोजना गरेकाो कार्यक्रममा सबैजसो दलका उम्मेदवारहरू सहभागी थिए । सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने सरोकारवाला व्यक्तिहरू उपस्थित थिए । कार्यक्रम चल्दै गर्दा सूर्यदर्शन सहकारीका जैसीले रास्वपा उम्मेदवार विना गुरुङलाई एउटा चिट दिए । उक्त चिट उनको बच्चा पढ्ने स्कुलको बिल खुलासा भएको छ ।
‘उहाँको सभापतिले मेरो सहकारीमा भएको पैसा खाइदिनुभयो । मेरो बच्चाको बिल तिर्न नसकेर बच्चा निकाल्ने अवस्था बनेको छ । उहाँले नै तिरिदिनु भनेर बिल बुझाएको हुँ,’ जैसीले भने । कार्यक्रममा सहभागी अधिकांश सहकारीको विषयलाई लिएर आक्रोशित भए । उनीहरूले रास्वपाका सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता र पार्टीले घोषणापत्रमा उल्लेख गरेको १०० दिनभित्र रकम फिर्ता गर्ने प्रतिबद्धतामाथि बढी प्रश्न गरेका हुन् ।
उनीहरूले सहकारीमा दुःख गरेर जम्मा गरेको रकम अपचलन हुँदा आफ्नो दैनिक जीवन नै कष्टकर बनेको गुनासो पोखे । जवाफमा गुरुङले भने सभापति लामिछानेको बचाउ गरिन् । उनले रवि लामिछानेमाथि लगाइएको मुद्दा विशुद्ध राजनीतिक प्रतिशोध भएको दाबी गरिन् । ‘हाम्रो सभापतिमाथि लगाइएको मुद्दा राजनीतिक प्रतिशोध हो भन्ने धेरैलाई थाहा छ,’ उनी भन्छिन्, ‘पार्टीले घोषणापत्रमा स्पष्ट लेखेको छ १ सय दिनभित्र एउटा विशेष कोष खडा गरेर न्यूनतम रकम फिर्ता गर्ने हाम्रो योजना छ ।’
उनले आफू पनि सहकारी सञ्चालक रहेको भन्दै नियमनकारी निकायको कमजोरीका कारण समस्या आएको जिकिर गरिन् । कार्यक्रममा एमाले उम्मेदवार दामोदर बैरागीले सहकारी छानबिन विशेष समितिको प्रतिवेदन पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए । ‘सहकारी ठग्ने जोसुकै भए पनि कानुनको दायरामा ल्याइनुपर्छ र पीडितको बचत सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ,’ उनले भने ।
अन्य उम्मेदवारहरूले भने ठुला दलहरूले नै सहकारी ठगहरूलाई पालेको र संसदमा पुर्याएको आरोप लगाए । ‘जनताको पसिना लुटेर पार्टी चलाउने र तिनैलाई सांसद बनाउने प्रवृत्तिले आज यो अवस्था आएको हो,’ उनीहरूले भने ।
पोखरामा सहकारी समस्या विकराल बनेको छ । दर्जनौं सहकारीका रकम हिनामिना भएको अवस्था छ । करिब ४० हजार व्यक्तिहरू सहकारीबाट पीडित बनेका छन् । अहिले उम्मेदवारसँग उनीहरूले आफ्नो रकम फिर्ताको ग्यारेन्टी मागिरहेका छन् । यो समाचारले ठूलो तरंग ल्याएको छ ।















प्रतिक्रिया दिनुहोस्