मधेश कांग्रेसले भन्यो– प्रधानमन्त्रीका उम्मेदवार ठान्नेले सभापति थापासँग खुला संवाद गर्न चुनौती
काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रधानमन्त्रीका आकांक्षीहरूलाई पार्टी सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापासँग खुला संवाद गर्न चुनौती दिएका छन् ।
मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली कांग्रेस जस्तोसुकै राजनीतिक चुनौतीको सामना गर्न तयार रहेको जिकिर गरे ।
उनले सबै दलका प्रधानमन्त्रीका उम्मेदवारहरूलाई सार्वजनिक बहस र संवादका लागि तयार हुन आग्रह पनि गरे ।
‘यदि कोहीले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार ठानेको छ भने कांग्रेस सभापति गगनकुमार थापासँग संवाद गरोस् । नेपाली कांग्रेस जुनसुकै चुनौतीको सामना गर्न तयार छ । खुला संवादका लागि हामी सबै प्रधानमन्त्रीका उम्मेदवारहरूलाई आह्वान पनि गर्न चाहान्छौं,’ उनले भने ।
प्रदेशका मुख्यमन्त्री समेत रहेका यादवले पार्टी बुधबार मधेस प्रदेशको धनुषाबाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने उल्लेख गर्दै उक्त सभामा सहभागि हुन सबैमा अपिल समेत गरे ।
‘भोलि हामी यहीँबाट पार्टीको घोषणापत्र सार्वजनिक गर्न गइरहेका छौँ । सबैले आफूलाई मुलुक निर्माणको लागि जिम्मेवार ठानेर भोलिको आम सभामा उपस्थित हुनुहोस्,’ उनले भनेका छन् । पार्टीले ‘भिजन १०’ को थिममा प्रतिज्ञापत्रको नाम दिएर घोषणा पत्र तयार पारेको जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्