निर्वाचन सुरक्षाका लागि १३ हजार प्रहरी परिचालन
काठमाडौं, ४ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा प्रहरी प्रधान कार्यालयले जिल्लाहरूमा थप मद्दत परिचालन गर्ने भएको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदान स्थलको सुरक्षामा केन्द्रबाट थप प्रहरी परिचालन गर्न लागिएको हो ।
करिब १३ हजार प्रहरीलाई थप मद्दतको रूपमा परिचालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । प्रहरी प्रधान कार्यालयले पहिलो चरणमा ४४ जना डीएसपी र ११० जना इन्स्पेक्टरलाई परिचालन गरिसकेको छ । थप १ सय जना डीएसपी र चार सय इन्स्पेक्टर परिचालन गर्नेगरी प्रहरी प्रहरी प्रधान कार्यालयले योजना बनाएको छ ।
पहिलो चरणमा खटिएका अधिकृतहरू सोमबार फिल्डमा पुगेको प्रहरी प्रवक्ता ९डीआईजी० अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘पहिलो चरणमा खटिएका अधिकृतहरू फिल्डमा पुगिसकेका छन् ।’
थप मद्दतको रूपमा खटिने प्रहरी अधिकृतहरू उपत्यका प्रहरी कार्यालय मातहतका गण, गुल्महरू र प्रहरी प्रधान कार्यालयबाट पठाइने छन् । अतिसंवेदनशील मतदान स्थल धेरै भएका मधेसका जिल्ला र लुम्बिनी प्रदेशका जिल्लामा धेरै प्रहरी खटिने छन् ।
झापादेखि कैलालीसम्म तराईका जिल्लाहरूलाई प्रहरीले निर्वाचन सुरक्षाको दृष्टिले चुनौतीपूर्ण मानेको छ ।
मधेस प्रदेशमा सबैभन्दा धेरै अति संवेदनशील मतदानस्थल छन् । मधेस प्रदेशका ८ जिल्लाका १२ सय ४६ मतदानस्थल अति संवेदनशील सूचीमा छन् । लुम्बिनीमा ४६२ र सुदूरपश्चिममा ४८१ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।
कोशी प्रदेशमा ४३९ वटा मतदानस्थल अति संवेदनशील सूचीमा छन् । बागमती प्रदेशका १० जिल्लामा ३५४ मतदानस्थल अति संवेदनशील सूचीमा छन् । गण्डकी प्रदेशमा ३२८ वटा र कर्णाली प्रदेशका ३५८ मतदान स्थल मतदानस्थल अति संवेदनशील सूचीमा छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सुरक्षामा ७३ हजार प्रहरी परिचालन हुनेछन् । प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी र सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरी परिचालन गर्नेछ । निर्वाचन सुरक्षामा उपलब्ध फौजलाई परिचालन गरिने डीआईजी काफ्लेले बताए ।
उनले भने, ‘हामीसँग भएको फौजलाई अधिकतम रूपमा निर्वाचन सुरक्षामै परिचालन गर्नेछौँ ।’
एउटा पालिकामा दुई जना इन्स्पेक्टर
फागुन २१ मा प्रतिनिधि सभातर्फ २ सय ७५ सिटमध्ये १६५ प्रत्यक्ष र ११० सिट समानुपातिक निर्वाचन प्रणालीबाट सांसदहरू चुनिनेछन् । निर्वाचन सुरक्षालाई चुस्त र भयरहित बनाउन प्रहरी प्रधान कार्यालयले एउटा पालिकामा दुई जना इन्स्पेक्टर परिचालन गर्ने भएको छ ।
एउटा स्थानीय तहमा दुई जना इन्स्पेक्टरलाई खटाइने प्रहरी प्रवक्तासमेत रहेका डीआईजी काफ्लेले बताए । उनले भने, ‘उनीहरूलाई सपोर्ट गर्न डीएसपीको कमाण्डमा एउटा रिजर्ब टिम हुन्छ ।’
रिजर्ब टिमले दुई–तीन वटा गाउँपालिका र जिल्ला तहमा आवश्यकता अनुसार सपोर्ट गर्नेगरी प्रहरीको केन्द्रीय निर्वाचन सेलले सुरक्षा रणनीति तयार गरेको छ । निर्वाचन सेलको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० उमा प्रसाद चतुर्वेदी हुन् । निर्वाचन सेलमा डीआईजी अरुण पौडेल, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दयानिधी ज्ञवाली र सुवास चन्द्र बोहरा सदस्य छन् ।
उपमहानगरपालिकामा ३ जना र प्रत्येक महानगरपालिकामा ४ जना इन्स्पेक्टरलाई निर्वाचन सुरक्षामा परिचालन गर्नेगरी योजना तयार गरिएको छ । केन्द्रबाट जाने प्रहरीलाई फागुन १० सम्ममा निर्वाचन क्षेत्रमा पठाइसक्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । डीआईजी काफ्लेले भने, ‘यसै साताभित्र सबै क्षेत्रमा प्रहरी कर्मचारीहरू पुगिसक्छन् ।’
कर्णाली प्रदेशबाट तल्लो दर्जाका प्रहरीलाई अन्यत्र खटाइने भएको छ । संख्या धेरै भएको हुनाले कर्णालीबाट तल्लो दर्जाका प्रहरीलाई अरु प्रदेशमा परिचालन गरिने तर, त्यहाँ सिनियर अधिकृतलाई थप मद्दतमा पठाइने भएको छ ।
डीएसपी कमाण्ड हुने जिल्लामा एसपी परिचालन गर्ने तयारी छ । कर्णालीको कालिकोट, बझाङ, बजुरा र दार्चुलामा निर्वाचन सुरक्षाको कमाण्ड एसपीले गर्नेछन् ।
अति संवेदनशील स्थलमा ३ जना प्रहरी र १० जना निर्वाचन प्रहरी परिचालन हुनेछन् । प्रहरीका एक जना उच्च अधिकृतले भने, ‘मतदान स्थलमा थप मतदान केन्द्र भएमा २ जना प्रहरी र ४ जनाका दरले निर्वाचन प्रहरी थप गरिन्छ ।’
सशस्त्र प्रहरीका ३१ हजार सुरक्षाकर्मी दोस्रो घेरामा खटिने छन् । एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार चुनावमा ७९ हजार सेना खटिँदै छन् । सेना तेस्रो घेरामा परिचालित हुनेछ । निर्वाचनमा सूचना सङ्कलनको जिम्मेवारीसहित राष्ट्रिय अनुसन्धान विभागका २ हजार सुरक्षाकर्मी परिचालन गरिने राष्ट्रिय अनुसन्धान विभागका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
केन्द्रीय सुुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजना अनुसार मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षामा निर्वाचन प्रहरीसहित ३ लाख १५ हजार सुरक्षाकर्मी परिचालित हुनेछन् ।















प्रतिक्रिया दिनुहोस्