पार्टीको आन्तरिक एकता थप सुदृढ र सबल बन्दै गएको छ: प्रवक्ता चालिसे

काठमााडौं, २ फागुन । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आमनिर्वाचनको तयारीसँगै पार्टीको आन्तरिक एकता थप सुदृढ र सबल बन्दै गएको बताएका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले विशेष महाधिवेशनपछिको पृष्ठभूमिमा पार्टीभित्र कुनै पनि प्रकारको अलमल, असहयोग वा गुनासो नरहेको स्पष्ट पारेका हुन् ।

पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस निर्वाचनसँगै आन्तरिक एकताका सवालमा निरन्तर सुदृढ बन्दै गइरहेको छ । निवर्तमान पदाधिकारी तथा वरिष्ठ नेतागणहरू निर्वाचनको महत्त्वलाई ह्रदयंगम गर्दै देशका विभिन्न क्षेत्रमा पुगेर सहयोग र निर्देशन दिन क्रियाशील हुनुहुन्छ ।’

प्रवक्ता चालिसेले पार्टीको चुनावी ‘प्रतिज्ञापत्रु भोलि फागुन ३ गते केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिने जानकारी दिए । पार्टी सभापति गगनकुमार थापाको अगुवाइमा तयार पारिएको उक्त दस्तावेजले मुलुकको समृद्धि र आगामी पाँच वर्षको स्पष्ट खाका प्रस्तुत गर्ने कांग्रेसको विश्वास छ ।

निर्वाचन आयोगको तालिका अनुसार फागुन ४ गतेदेखि कांग्रेसले देशव्यापी औपचारिक चुनावी प्रचारप्रसार सुरु गर्ने र फागुन ६ गते मधेश प्रदेशको राजधानी जनकपुरमा विशाल आमसभा आयोजना गर्ने कार्यक्रम तय भएको छ ।

कांग्रेसले निर्वाचन आचारसंहिताप्रति आफ्नो उच्च सम्मान रहेको र यसको निःशर्त पालना गर्ने प्रतिबद्धता समेत जनाएको छ । प्रवक्ता चालिसेले नेपाली
लोकतन्त्रमाथिको प्रहार र छिमेकी राष्ट्रका राजनीतिक घटनाक्रमप्रति सचेत रहँदै कांग्रेसले आफ्नै देशको समृद्धि र लोकतान्त्रिक मूल्यको रक्षालाई प्राथमिकतामा राखेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्