नेप्से सूचक २७ अंकले सुधार, ११ अर्ब ५८ करोड कारोबार

काठमाडौं,२२ माघ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचकमा दोहोरो अंकले सुधार आएको छ ।

यो साता बुधबारसम्म करिब ३२ अंक घटेको नेप्से सूचक बिहीबार भने २७ अंक बढेको हो ।

 अघिल्लो कारोबार दिन अर्थात बुधबार ७ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२६ स्टकको १ लाख ८ हजार ८१७ पटकको कारोबारमा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँबराबरको ३ करोड ५५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यो साता सुरुदेखि अस्थिर नेप्से सूचक बिहीबार बढेको हो । यो दिन नेप्से सूचक मात्रै होइन, कारोबार रकममा पनि सुधार आएको छ ।

बिहीबार कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से सूचक बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा २६८१.५ अंकमा रहेको नेप्से सूचक २७.१९ अंक बढेर २७०८.७० बिन्दु पुगेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि ४.४७ अंक बढेको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका सेयरमध्ये ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा कालिञ्चोक दर्शन, सुपर मादी हाइड्रो र मोदी इनर्जी छन् । त्यसैगरी  नेप्सेमा कारोबार भएका २ सय १ कम्पनीको सेयर मूल्य बढेको छ । बिहीबार ५५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत सूचक पनि बढेका छन्् । यस दिन बैंकिङ ७.७१, विकास बैंक ५३.७८, वित्त १२.१६, होटल १७.०७, जलविद्युत् ५८.५०, लगानी १.२८, जीवन बीमा १४३.८५, उत्पादनमूलक ६९.२१, लघुवित्त २९.५५, सामूहिक लगानी कोष ०.१२, निर्जीवन बीमा २१८.९२ र अन्य समूह ४६.२९ अंक बढेका छन् । तर, बिहीबार नेप्सेमा कारोबार भएको व्यापार समूहमा भने १८.५१ अंकले गिरावट आएको छ ।

बिहीबार नेप्सेको कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । नेप्सेमा ३ सय २६ कम्पनीको १ लाख ८ हजार ८ सय १७ कारोबारबाट ११ अर्ब ५८ करोड बराबरको ३ करोड ५५ लाख ७४ हजार ६ सय २७ कित्ता सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो ।

बुधबार नेप्सेमा ३ सय २६ कम्पनीको ८० हजार ४ सय २२ कारोबारबाट ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्