पार्टी भित्रको केही अन्तरसंघर्षहरू पछि मिलाउला, अहिले चुनावमा लागौं: नेता लेखक
काठमाडौं, २० माघ । नेपाली कांग्रेसका नेता रमेश लेखकले आफू यसपटक चुनाव नलडे पनि पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने बताए। उनले भने, ‘उम्मेदवार फेरिन्छ। पार्टी भित्र अलिकता समस्या होलान्, दुबिधाहरू होलान्, अन्तरसंघर्ष होला। मैले हिजो पनि भनेको छु, आज पनि भन्छु कांग्रेसका मानिसहरूले अहिले पार्टी भित्रको अन्तरसंघर्षका बारेमा छलफल गर्ने होइन। अन्तरसंघर्षका बारेमा विवाद गर्ने होइन। हाम्रा पार्टी भित्र केही समस्याहरू छन्, केही अन्तरसंघर्षहरू छन्, त्यसलाई हामीले वैधानिक रूपले पनि वैधानिक रूपले निर्णय गर्ने निकायले निर्णय गर्ला। राजनीतिक रूपले पार्टी भित्र बसेर हामी मिलाउँला।’
अहिले पार्टी भित्रको द्वन्द्व थाती राखेर अरूसँग प्रतिस्पर्धा गर्न केन्द्रित हुनुपर्ने बताए।
देश सामान्य अवस्थामा नरहेको बताएका छन्। कञ्चनपुर पुगेका लेखकले कार्यकर्ता भेटघाटमा बोल्दै देशको संविधान लिक भन्दा बाहिर गएको बताए।
उनले भने, ‘मुलुकको जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधि सभा विघटित छ। अघि नै साथीहरूले चर्चा गरिसक्नुभयो, २०८४ सालमा निर्वाचन गर्ने भनेको ८२ सालमै प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। लोकतन्त्र जोखिममा छ, अप्ठ्यारोमा छ, अवस्था सहज छैन। यस्तो अवस्थामा हामी निर्वाचनमा अगाडि बढेका छौँ।’
उनले भदौ २३ र २४ गते अत्यन्त दुःखद र अकल्पनीय घटना भएको बताए। पूर्वगृहमन्त्री समेत रहेका लेखकले भने नयाँ पुस्ताका युवा भाइ–बहिनीहरूले देशमा भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने, सामाजिक सञ्जाललाई निर्बाध रूपले सञ्चालन गर्ने मागका साथ सडक प्रदर्शन गरेको स्मरण गरे।
उनले भने, ‘उहाँहरूको सडक प्रदर्शनमा घुसपैठ भयो। लोकतन्त्रलाई कमजोर गर्ने गरी प्रदर्शनलाई हाइज्याक भयो। मैले त २३ गते साँझ नै राजीनामा गरिसक्या थिएँ गृहमन्त्रीबाट। २४ गतेका दिन तत्कालीन प्रधानमन्त्रीले पनि राजीनामा गर्नुभयो र त्यसका ठाउँमा अर्को सरकार बन्यो। संसद् विघटन भयो र मुलुक निर्वाचनमा अगाडि बढेको छ।’















प्रतिक्रिया दिनुहोस्