राष्ट्रपति पौडेल जापानको औपचारिक भ्रमणका लागि प्रस्थान प्रस्थान
काठमाडौं, १९ माघ । राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
आफूबाट हुने गरेका कार्यालयका नियमित काम उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई जिम्मा लगाएर राष्ट्रपति पौडेल आइतबार राति जापान प्रस्थान गरेका हुन् ।
उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरु, सुरक्षा निकाय प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालका लागि जापानी राजदूतलगायतले बिदाइ गरेका थिए ।
राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी र राष्ट्रपति कार्यालयका पदाधिकारी संलग्न छन् ।
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा गएका हुन् ।
राष्ट्रपति पौडेल यही माघ २१ स्वदेश फर्कने तालिका छ ।
यस्तो छ जापान भ्रमणको तालिका:
भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने कार्यक्रम छ ।
उनले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने कार्यतालिका छ ।
भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
यसैगरी जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनका साथै राष्ट्रपति पौडेलले जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन् ।
अठारौं शताब्दी पुरानो नेपाल(जापान सम्बन्ध
नेपाल–जापान सम्बन्ध अठारौँ शताब्दीको अन्त्यतिरबाट सुरु भएको हो । १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यो सम्बन्ध औपचारिक भयो, जुन मित्रता, सद्भाव र सहयोगले चिनिन्छ ।
कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेका थिए । जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावाससमेत रहेको छ ।
जापानी बौद्ध भिक्षु, रेभ एकाइ कावागुची पहिलोपटक १८९९ मा पवित्र बौद्ध धर्मग्रन्थहरूको खोजीमा तिब्बतको बाटो हुँदै नेपाल आएको इतिहास छ । उनले जापानमा नेपालको परिचय गराएको र आफ्ना लेखन तथा प्रकाशनमार्फत जापानी जनतालाई लुम्बिनीको महत्व उजागर गरेको इतिहासकारहरू बताउँछन् ।
नेपालमा राणा शासनकालमा सन् १९०२ मा आठ नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएकापछि नेपालीहरू जापानी संस्कृति र प्रविधिसँग नजिक भएको बताइन्छ ।















प्रतिक्रिया दिनुहोस्