आज शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, १६ माघ । आज शहीद दिवस देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना हुने गरेको छ ।

आज शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत भएको छ । सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहनेछ ।

सरकारले शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको थियो । यद्यपि २०८१ सालदेखि भने शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले २०८० सालमै गरिसकेको थियो ।

वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो ।

यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।

विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको थियो ।

भदौ २३ गते जेनजी शहीद दिवस:

वर्तमान अन्तरिम चुनावी सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवस मनाउने निर्णय गरेको छ । मुलुकमा व्याप्त भ्रष्टाचार र अव्यवस्था विरुद्ध गत नवयुवा पुस्ताले भदौ २३ गतेदेखि स्वतस्फूर्त सुरु गरेको प्रदर्शनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । २ दिनसम्म चलेको आन्दोलनको क्रममा ७६ जनाले ज्यान गएको थियो ।

त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको चुनावी सरकारको मंसिर १५ गते बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गतेलाई जेनजी शहीद दिवस मनाउने निर्णय गरेको हो ।

मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र रु.१० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा चोट पुगेको गुनासा बढ्न थालेको छ ।

शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो सुनिन्छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको भनी जनस्तरबाट टिप्पणी हुने गरेको छ ।

जेनजी युवा आन्दोलनको मर्म र भावना अनुसार काम नभएको भनेर यही अन्तरिम चुनावी सरकारका कामकारबाहीमाथि पनि कतिपयले प्रश्न उठाउने गरेका छन् । यसले सरकारको आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्