डोल्पा र रुकुमपूर्वमा भारी हिमपात, सडक अबरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र

काठमाडौं, १५ माघ । डोल्पा आउँदै गरेका यात्रुहरू भारी हिमपातका कारण सडक अबरुद्ध भएका छन् । काठमाडौंबाट डोल्पा आउँदै गरेका यात्रुहरू भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व(बाग्लुङ खण्डमा यात्रुहरु अलपत्र परेका हुन् ।

उक्त सडकखण्डमा परेको हिमपातले दर्जनौँ बस र यात्रु बीच बाटोमै अलपत्र परेको डोल्पा स्थानीयले जनाएको छ । अत्यधिक चिसोका कारण यात्रुहरूलाई निकै समस्या भइरहेको छ । केही यात्रुको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ।

उनीहरु आगो तापेर बसेका छन् । तर एक जना अशक्त नागरिक भने गाडीमै छन्, खानपिनको व्यवस्था छैन, अवस्था निकै नाजुक छ। हिउँमा फसेको घण्टौंसम्म पनि उद्धारका लागि सम्बन्धित निकायबाट पहल नभएको यात्रुहरुको गुनासो छ । यात्रुहरूले तत्काल उद्धार, खाना, न्यानो कपडा र स्वास्थ्य सहयोगको माग गरेका छन्। हिउँमा फसेका अधिकांश यात्रुहरु डोल्पाका रहेको बताइएको छ।

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार रुकुम पूर्वमा फसेका सवारी साधन र तिनमा सवार यात्रुहरुलाई बुधबार नै उद्धार गरेर बागलुङतर्फ पठाइएको थियो ।

उनले भनिन्, ‘रुकुम पूर्वी भागमा यात्रुहरु अलपत्र परेका छैनन् । मेरो आफ्नै नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित भूमे गाउँपालिकासँग समन्वय गरेर डोजर लिएर गयौँ । हिउँ पन्छाएर उद्धार गरेका थियौं ।’

उनका अनुसार सरकारी गाडीमा राखेर यात्रुहरुलाई रुकुम पूर्वको सिमाना कटाइएको थियो ।

रुकुम पूर्वबाट अघि बढेकाहरु बागलुङ खण्डमा रोकिएका थिए । त्यहाँ फसेकाहरुलाई पनि गन्तव्यमा पठाउन दुई जिल्लाबीच समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी परियारको भनाइ छ । ‘हिजो हिउँ पन्छाएर बाटो आंशिक खुलायौं । आज पूर्णरुपमा खुलाउने प्रयास गर्छौं,’ उनले भनिन् ।

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले पनि हिउँ बाक्लो नभए पनि बाटो चिप्लो भएकाले केही गाडीहरु बीच बाटोमा रोकिएको बताए । हिउँ पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए । उनले भने, ‘हिजोसम्म हिउँ नै पर्यो खुलाउन सकिएन । आज बिहानपख पनि हल्का हिउँ परेर बाटो चिप्लो भएको छ । आज बाटो खुलाएर गन्तव्यतर्फ पठाउँछौं ।’ उद्धार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्