पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव, हिउँ र पानी पर्ने सम्भावना

काठमाडौं, १३ माघ । हाल देशभर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका प्रभनवले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका जिल्लाहरुमा हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

मौसमविद् सन्जिव अधिकारीका अनुसार आज माघ १३ गते मंगलबार दिउँसोदेखि नै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै ठाउँमा हल्का हिउँ वा पानी पर्ने सम्भावना छ । ती दुवै प्रदेशका पहाडी र तराई क्षेत्रमा भने हल्का पानी पर्ने सम्भावना छ ।

उनका अनुसार रातितिर पानी पर्ने प्रणाली थप पूर्वतिर सर्दै जाने छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही ठाउँमा मध्यम किसिमको हिउँ वा पानी पर्ने सम्भावना छ ।

‘यो प्रणालीको प्रभावले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका उच्च पहाडी र हिमाली भेगमा मध्यम खालको हिमपात हुन्छ । एक–दुई ठाउँमा त भारी हिमपात पनि हुनसक्ने सम्भावना छ,’ मौसमविद् अधिकारीले भने ।

बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा भने एक(दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ ।

पानीको कुरा गर्नुपर्दा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही ठाउँहरुमा मध्यम खालको वर्षा हुने सम्भावना छ । ती प्रदेशका तराईका भूभागमा भने हल्का पानी पर्ने सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित नै पानी पर्ने सम्भावना छ ।

मौसमविद् अधिकारीका अनुसार काठमाडौंमा पनि हल्का खालको पानी पर्ने सम्भावना छ तर बुधबार मात्र ।

‘भोलि बुधबारको दिन थप बादल बढ्ने र दिउँसोतिर काठमाडौंमा पनि हल्का किसिमको पानी पर्ने सम्भावना छ,’ उनले भने, ‘त्यति ठूलो पानी होइन, सामान्य पानी भोलि दिउँसो काठमाडौं उपत्यकामा पर्नेजस्तो देखिन्छ ।’

काठमाडौं उपत्यकाकै छेउँछाउँमा हिउँ पर्ने सम्भावना भने कम देखिएको उनले जानकारी दिए । ‘काठमाडौंभन्दा माथिल्ला भूभागमा र कोशी प्रदेशका हिमाली भेगसम्म पनि हल्का हिमपातको सम्भावना छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्