प्रतिनिधिसभा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८४ जनाले दिए उम्मेदवारी

काठमाडौं,७ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८४ जनाले उम्मेदवारी दिएका छन् । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र रूपमा १ हजार १८७ जनाले मंगलबार मनोनयन दर्ता राएको निर्वाचन आयोगले जनाएको छ ।

कुल उम्मेदवारमध्ये पुरुष ३ हजार ८८, महिला ३९५ र अन्य समूहका एक महिला रहेको निर्वाचन आयोगले जनाएको छ । लैंगिक अल्पसंख्यक समुदायको समावेशी समाजवादी पार्टीले भने आफ्नो तर्फबाट ६ जना प्रतिस्पर्धामा उत्रिएको जनाएको छ ।

आयोगका अनुसार २५–३५ वर्ष उमेर समूहका ५८३, ३६–५० वर्ष उमेर समूहका १ हजार ६१०, ५१–६५ वर्ष उमेर समूहका १ हजार ९० र ६५ वर्षमाथिका २०१ उम्मेदवार छन् । यस पटक प्रमुख राजनीतिक दलहरूबीच चुनावी गठबन्धन छैन ।

कांग्रेस र एमालेले सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । नेकपाले १६४, रास्वपाले १६३, राप्रपाले १६३, नेमकिपाले १२१, श्रम संस्कृति पार्टीले १०९, उज्यालो नेपाल पार्टी १०८, आम जनता पार्टी १०२, जसपा नेपालले ९५, प्रगतिशील लोकतान्त्रिक पार्टी ९२ र जनमतले ६१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

कांग्रेस सभापति गगनकुमार थापा सर्लाही–४, एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५, नेकपा अध्यक्ष पुष्पकमल दाहाल रुकुम पूर्व, रास्वपा सभापति रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दिएका छन् । रास्वपाले आगामी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अगाडि सारेका बालेन्द्र शाह पूर्वप्रधानमन्त्री ओलीलाई चुनौती दिन झापा–५ पुगेका छन् । उनी काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–३ र जनमतका अध्यक्ष सीके राउतले सप्तरी–२ तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ बाट प्रतिस्पर्धा गर्दै छन् । धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरी–१ बाट उम्मेदवारी दिएका छन् । कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यस पटक उम्मेदवार छैनन् । उनी २०४८ यताका सबै संसदीय निर्वाचनमा डडेलधुराबाट जित्दै आएका थिए ।
प्रतिनिधिसभाका अघिल्ला दुई निर्वाचनको तुलनामा यस पटक बढी उम्मेदवारी परेको छ। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा २ हजार ४११ र २०७४ मा १ हजार ९४४ जना उम्मेदवार थिए । यस पटक पनि नाम फिर्ता लिने तथा दाबी विरोधपछि उम्मेदवारको संख्या केही घट्न सक्ने आयोगले अनुमान गरेको छ । ।

प्रतिक्रिया दिनुहोस्