अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै, राजनीतिक अवस्था बारे जानकारी लिने

काठमाडौं, ५ माघ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि आज झापा जाँदैछन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उनी बिहान १०ः२५ को जहाजबाट भद्रपुर ओर्लने कार्यक्रम तय भएको छ।

यसपटकको निर्वाचनमा झापा, ५ राष्ट्रिय राजनीतिमै सबैभन्दा बढी चर्चाको पाएको छ । जहाँ अध्यक्ष ओलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौँका पूर्वमेयर बालेन शाहले पनि उम्मेदवारी दिने तयारी गरेका छन्।

झापा पुगेलगत्तै अध्यक्ष ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीबारे जानकारी लिने कार्यक्रम छ। उनले भद्रपुरमै क्षेत्र नम्बर १ र ३ का नेता÷कार्यकर्तासँग भेटघाट गरी पछिल्लो अवस्थाबारे बुझ्नेछन्। त्यसपछि बिर्तामोडमा क्षेत्र नम्बर २ र सुरुङ्गामा क्षेत्र नम्बर ४ को तयारीबारे जानकारी लिने तालिका रहेको छ। आफ्नै निर्वाचन क्षेत्र झापा, ५ को तयारीबारे भने उनले दमकमा स्थानीय नेताहरूसँग विस्तृत छलफल गर्नेछन्।

यसपटकको भ्रमणमा ओलीले दमकस्थित आफ्नो निवासमा पनि जाने कार्यक्रम बनाएका छन्। सो निवास जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट प्रभावित भएको थियो।

भदौमा भएको सो विद्रोह र सत्ता फेरबदलपछि पहिलो पटक हुन लागेको यो निर्वाचनलाई एमालेले निकै प्रतिष्ठाको विषय बनाएको छ। झापा,५ मा ओली, बालेन शाह र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
बालेन शाह पनि आजै झापा पुगी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । यतिखेर उनी जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चनानमा सहभागि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्