आज भव्यताकासाथ सोनाम ल्होसार पर्व मनाइँदै, घोडा वर्ष सुरु

काठमाडौं, ५ माघ । आज भव्यताकासाथ २८६२ औँ सोनाम ल्होसार पर्व मनाइँदैछ ।

यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु भएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको संस्तृतिविदको भनाइ छ ।

तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ ।

यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । आइतबारदेखि नै राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ ।

विगतमा सोनाम ल्होसारको बिदा कटौती गरेको सरकारले पछि देशैभर बिदा दिन थालेको छ । विभिन्न प्रदेश र स्थानीय सरकारले पनि सार्वजनिक बिदा दिएका छन् ।

पर्वका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना दिएका छन् ।

महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ । साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ । यसले नेपाली काला र परम्पराले निरन्तता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्