प्रतिनिधिसभा सदस्य उम्मेदवारले मनोनयन दर्ता गर्दा १० हजार धरौटी राख्नुपर्ने, अन्यलाई ५० प्रतिशत छुट

काठमाडौं, ४ माघ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ । तर, महिला, दलित, अल्पसंख्यक र विपन्नले धरौटी रकमा ५० प्रतिशत छुट गरि ५ हजारले पाउनेछन् ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायाणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर उम्मेदवारी दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजातहरूबारे जानकारी दिएका छन् ।

जसअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि १० हजार रुपैयाँ धरौटी राख्नुपर्छ । यसका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्छ ।

उम्मेदवारी दर्ताको लागि २ माघमा सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना भइसकेका छन् । जहाँ गएर उम्मेदवारले मनोनयन पत्र दर्ता गर्न सक्नेछन् ।

उम्मेदवारी दर्ता गर्दा महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।

आर्थिक रूपले विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र पेस गर्नुपर्छ ।

आगामी २१ फागुनमा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय पर्सि छ ।

दुई दिन अगाडि सूचना निकालेर आयोगले के कस्ता विषय मनोनयन पत्रका साथ पेस गर्नुपर्छ भनेर जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्