बंगलादेशविरुद्धको सिरिज अफगानिस्तानद्वारा कब्जा
भारत । भारतको देहरादूनमा भइरहेको बंगलादेशविरुद्धको टी-२० सिरिज अफगानिस्तानले कब्जा गरेको छ। तीन खेलको सिरिजको दोस्रो खेलमा ६ विकेटको प्रभावशाली जित निकाल्दै अफगानिस्तानले एक खेलअगावै सिरिज कब्जा गरेको हो। अघिल्लो खेलमा जस्तै दोस्रो खेलमा पनि स्टार स्पिनर रसिद खान चम्किएपछि बंगलादेश १३४ रन मात्र जोड्न सफल भयो। बंगलादेशको इनिङलाई ध्वस्त पार्ने क्रममा रसिदले १२ रन खर्चिएर ४ विकेट लिए।
उनी खेलको म्यान अफ द म्याच घोषित भए। जवाफमा अफगानिस्तानले ७ बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो। उसका लागि तमिम इकबालको ३४ रन सर्वाधिक रह्यो। त्यस्तै मुस्फिकर रहिमले २२ रन बनाउँदा ममोदुल्लाह १४ तथा सविर रहिमले १३ रन बनाए। मध्यक्रम निरन्तर विकेट पतनको शिकार हुँदा नवौं नम्बरमा ब्याटिङका लागि आएका अबु हाइदरले २१ रन बनाउँदै टिमलाई अलआउट हुनबाट जोगाए। तर उनले टिमको हार टार्नका लागि पर्याप्त स्कोर बनाउन भने असफल रहे।
१३५ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको अफगानिस्तानले सहज रूपमा पूरा गर्यो। उसका लागि समिउल्लाह सेनवारीले ४९ रनको स्कोर बनाउँदा ओपनरहरू मोहमद साहजाद तथा उस्मान घानीले क्रमस २४ र २१ रनको स्कोर तयार गरेका थिए। उसलाई सहज जित दिलाउन भने मोहमद नाविले विस्फोटक पारी खेले। नाविले १५ बलमा ३१ रन बनाउँदै अफगानिस्तानलाई १८ ओभर ५ बलमानै जित दिलाए। अब यी दुईबीच अन्तिम टी-२० खेल बिहिबार हुनेछ।
प्रतिक्रिया दिनुहोस्