नाइजेरियासँग अर्जेन्टिना स्तब्ध

मस्को (एजेन्सी) । अर्जेन्टिनासँग २–० ले पछि परेको अवस्थालाई उल्टाउँदै नाइजेरियाले मैत्रीपूर्ण खेलमा ४–२ को जित हासिल गरेको छ । नाइजेरियाको जितमा आर्सनलका २१ वर्षीय युवा फरवार्ड एलेक्स इवोबीले दुई गोल गरे ।

लियोनल मेस्सी बिना खेलेको अर्जेन्टिनाले खेलको २८ औं मिनेटमा एभर बानेगाको गोलमा अग्रता लियो । खेलको ३६ औं मिनेटमा म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरोले अर्जेन्टिनाको अग्रता दोब्बर गरेपनि लेस्टरका स्ट्राइकर केलेची इनाचोले पहिलो हाफको अन्त्य अघि नाइजेरियाको पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काए ।

दोस्रो हाफमा इवोबीले ५२ औं मिनेटमा बराबरी गोल गरे भने दुइ मिनेट पछि ब्राइन इडोवुले नाइजेरियालाई खेलमा पहिलो पटक अग्रता दिलाए । इवोबीले ७३ औं मिनेटमा गोल गर्दै नाइजेरियाको जित सुनिश्चित गरे ।

अर्जेन्टिना नाइजेरियासँग पराजित भएको यो दोस्रो पटक हो । सन् २०११ मा पनि नाइजेरियाले अर्जेन्टिनामाथि आश्चर्यजनक किसिमले ४–१ को जित दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्