सरकार र दुर्गा प्रसाईंबीचको वार्ता निष्कर्ष विहीन

काठमाडौंं, २ माघ । सरकार र ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंबीचको वार्ता निष्कर्षविहीन सकिएको छ ।

केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको उपस्थितिमा दुर्गा प्रसाईं र उनका प्रतिनिधिबीच छलफल भएको थियो ।

तर, छलफलमा दुर्गा प्रसाईंले आफूविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने अडान प्रधानमन्त्रीसमक्ष राखेका थिए । ‘उहाँले आफूमाथि लागेका सबै मुद्दा जसरी पनि फिर्ता हुनुपर्छ भन्ने अडान राखिराख्नुभयो,’ सिंहदरबार स्रोतले भन्यो,’अडान नछोडेपछि प्रधानमन्त्री मन्त्रिपरिषद् बैठक छ अहिले म गएँ । बैठकपछि छलफल गरौँला भनेर निस्किनु भयो ।’

मन्त्रिपरिषद् बैठकपछि सरकार र प्रसाईंबीच पुनस् छलफल हुँदैछ ।

सरकार र दुर्गा प्रसाईंबीच एक सम्झौता गर्ने तयारी छ । ‘प्रदर्शन शान्तिपूर्ण गर्ने, समाज भड्काउने अभिव्यक्ति नदिनेलगायतका विषयमा प्रसाईंसहितसँग सम्झौताको तयारी छ,’ स्रोतले भन्यो,’सरकारले उनका मागबारे अध्ययन गर्ने समझदारी हुँदैछ ।’

सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक जारी छ । आजको मन्त्री परिषद बैठकले विभिन्न निर्णहरु गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्