गगन थापा नेतृत्वको समिति वैधानिकता दाबी गर्दै निर्वाचन आयोगमा, देउवा समूहले कानुनी परामर्श थाले

काठमाडौं, १ माघ । नेपाली काँग्रेसको भृकुटीमण्डपमा पुस २७ गतेदेखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्मत निर्वाचित गगन थापा नेतृत्वको समिति वैधानिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेपछि सभापति शेरबहादुर देउवा समूहले कानुनी परामर्श थालेको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवास हात्तिगौडामा पूर्वमहान्यायाधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, डेमोक्रयाटिक लयर्श एसोसिएसनका निवर्तमान अध्यक्ष योगेन्द्र अधिकारी वर्तमान महासचिव ज्ञानेन्द्र अधिकारीसहितका अधिवक्ताहरूसँग नेताहरूले परामर्श गरेका हुन् ।

परामर्शमा पार्टीभित्र देखिएको विवाद समाधान कसरी गर्न सकिन्छ ? केन्द्रीय कार्यसमितिको निर्णय र स्वामित्वबिना भएको विशेष महाधिवेशनका आधारमा निर्वाचित समितिलाई आयोगले वैधता दिन मिल्छ कि मिल्दैन ? र अब २०७८ सालमा १४औँ महाधिवेशनबाट निर्वाचित समितिलाई कायमै राखेर अगाडि बढ्न के गर्नुपर्छ भन्ने विषयमा नेताहरूले अधिवक्ताहरूसँग राय लिएका हुन् ।

अधिवक्ताहरूले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन आह्वानका लागि माग गर्न सक्ने व्यवस्था भएपनि केन्द्रीय समितिले स्वीकार नगरी महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेर अगाडि बढ्न नसक्ने बताएका थिए । आयोगले अर्को समूह आएकाले के भएको हो भन्ने पत्र पठाएपछि त्यसको जवाफ दिने र अहिले विशेष महाधिवेशन आधिकारिक नभएको जानकारी गराउन सुझाएको बताएका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । कारबाहीपछि विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिसकेको छ । र केन्द्रीय कार्यसमितिले गरेको निर्णय खारेज गरेको घोषणा गरेको छ ।

त्यसपछि उत्पन्न विवाद समाधानका लागि देउवा पक्ष कानुनी परामर्शमा जुटेको हो । यसले गगन र दृउवा समुहबीच आधिकारिकताको लडाई सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्