रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने निर्णय, सहकारी ठगीको भने यथावत

काठमाडौं, ३० पुस । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन र ठगीको भनेभने यथावत राख्ने सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ ।

महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन् ।

‘सहकारी ठगीको मुद्दा यथावत् हो, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेगरी मात्रै आरोपपत्र संशोधन गर्ने स्वीकृत दिइएको हो,’ महान्यायाधिवक्ता सबिता भण्डारी बरालले अनलाइनखबरसँग भनिन्, ‘यसलाई मुद्दा फिर्ता लिएको रुपमा बुझ्न हुँदैन ।’

उनले बुधबार ४ वटा जिल्ला अदालतमा चलिरहेको अभियोगपत्र संशोधन गर्न स्वीकृत दिने निर्णय गरेकी थिइन् । यो निर्णय पछि जिल्ला अदालत कास्कीमा चलिरहेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता हुनेछ ।

त्यसका साथै, रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेको संगठित अपराधको मुद्दा पनि फिर्ता हुनेछ ।

तर, चितवन जिल्ला अदालतमा संगठित अपराध र सम्पत्ति शुद्धिकरण कुनै पनि मुद्दा नचलेकाले अभियोगपत्र संशोधन गर्ने निर्णय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्