शहिद स्मारक जनस्वास्थ्य सहकारीको १९औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ।
माननीय सोमनाथ अधिकारी ‘प्यासी’को अध्यक्षतामा सम्पन्न सभाले अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०८१÷०८२ को आर्थिक प्रतिवेदनसहित विभिन्न प्रतिवेदन पारित गरेको छ।
२०६२÷०६३ को जनआन्दोलनपछि शहिदहरूको स्मृतिमा स्थापना भएको यस सहकारीले अस्पताल सेवा तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमको संयोजन वरिष्ठ अधिवक्ता ओम थपलियाले गर्नुभएको थियो भने स्वागत मन्तव्य शहिद स्मारक कलेजका अध्यक्ष निलकृष्ण ताम्राकारले व्यक्त गर्नुभएको थियो।
शहिद मेमोरियल अस्पतालका अध्यक्ष प्रा। डा। गणेशमान गुरुङले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा १९ वर्षदेखि निरन्तर सेवा प्रदान गर्न सफल हुनु गर्वको विषय भएको उल्लेख गर्दै, देशमै रोजगारी सिर्जना गर्दै हजारौँ सेवाग्राहीलाई सेवा दिन पाएको अनुभूति जिम्मेवार नागरिकको कर्तव्य पूरा भएको अनुभूति भएको बताउनुभयो। उहाँले आगामी दिनमा अस्पताल सेवाको थप विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। निर्वाचनबाट अध्यक्षमा मा। प्रा। डा। गणेशमान गुरुङ, उपाध्यक्ष निलकण्ठ काफ्ले, सचिव पुरुषोत्तम अधिकारी, सह–सचिव समिरा प्रधान, कोषाध्यक्ष भगवान धले निर्वाचित भएका छन्। सदस्यहरूमा उपेन्द्र पौड्याल, दीपक बस्नेत, तीर्थ प्रधान, रामचन्द्र कोइराला, राजेन्द्रमान श्रेष्ठ, दिपेन्द्र के।सी।, सरिता महर्जन चयन भएका छन्। महिला सदस्यहरूमा सीता रिजाल, राजकुमारी भुजेल र तुलसी शाह निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्षले संस्थामा विगतमा तत्कालीन प्रबन्ध निर्देशक तथा मेडिकल डाइरेक्टरबाट भएका भनिएका अनियमितता तथ्य र प्रमाण आधारमा शून्य सहनशीलताको नीति अपनाइ कडा कारबाही गरिने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा १५ वर्ष सेवा गरेका उत्कृष्ट कर्मचारीहरू रुद्र न्यौपाने, दिलमाया महर्जन, सङ्गीता महर्जन, शान्ताकुमारी थापा र सीता श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्