विशेष महाधिवेशनको उद्घाटन सभापतिले नै गरेको हेर्न चाहेका थियौ, हामी खुशी छैनौं: महामन्त्री थापा

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कोही मालिक कोही दास नहुने बताएका छन्।
विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी सभापतिदेखि सदस्यसम्म सबैको हैसियत बराबर हुने बताए।

उनले भने, ‘पार्टीको सदस्यहरूले आफ्नो हकको दाबी गरेको हो यो। आजबाट कांग्रेसमा लामो समयदेखि जाम भएर बसेको, पार्टी सञ्चालनको जुन तरिका थियो। त्यो भत्कियो, भोलि जोसुकै आओस्, पार्टीको सदस्यलाई कसैले हेप्न सक्दैन।’विशेष महाधिवेशनको उद्घाटन आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा मिलेर गर्नुपर्दा खुसी नलागेको बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामी यो मञ्चमा महामन्त्री विश्वप्रकाश शर्मा र मैले तल ओर्लिएर नेताहरूको तस्वीरमा माल्यार्पण गर्‍यौं, दियो बाल्यौं र गमलामा पानी हाले उद्घाटन गर्‍यौं । हामीलाई खुसी लागेको होइन,’ थापाले भने, ‘त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं । हाम्रो कार्यबाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं ।’

साथै, उनले बाहिर देखिएजस्तो कांग्रेसमा भित्र झगडा नभएको बरु त्यो विचारको संघर्ष रहेको बताए ।

‘कतिलाई बाहिरबाट हेर्दा नेपाली कांग्रेसभित्र झगडा भइरहेकोजस्तो पनि लागेको होला । तर कुरा त्यो होइन । यो संघर्ष नै हो । तर शक्तिको संघर्ष होइन, विचारको संघर्ष हो,’ थापाले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्