जसपा नेपाल र लोसपा नेपालबिच एकताका लागि १२ बुँदे सम्झौता
काठमाडौं, २७ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बिच एकताका लागि १२ बुँदे सम्झौता भएको छ । आइतबार भएको सो सम्झौता बमोजिम ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ ।
समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने उपेन्द्र यादव अध्यक्ष चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ ।
एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी ९जसपा० नेपाल रहने सहमति पत्रमा उल्लेख छ । पार्टीको थप एकीकरण प्रकृया प्रचलित कानुन बमोजिम हुने उल्लेख छ । पार्टी एकता पूरा नहुन्जेलसम्म केन्द्रीय समन्वय समितिले पार्टी सञ्चालन गर्ने सहमतिपत्रमा उल्लेख छ ।
दुवै पार्टीको भातृ संगठन, शुभेच्छुक संगठन तथा विभागहरु जसपा नेपालअन्तर्गत रही केन्द्रीय समन्वय समितिको मातहतमा रहेर कार्य गर्ने उल्लेख छ ।
पार्टी एकता भइ समायोजना पुरा नहुन्जेलसम्म दुवै पार्टीका अन्य संगठन तथा विभागहरु आआफ्नो जिम्मेवारी अनुसार समन्वय समितिको मातहतमा रहेर काम गर्ने सहमति भएको छ ।
फागुन २१ गते चुनावका लागि चयन गर्ने उम्मेदवारको लागि संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहने समेत सहमति भएको छ । त्यस्तै, राष्ट्रिय सभा सदस्यका लागि जसपा नेपालले दिएको उम्मेदवारी फिर्ता लिने विषय पनि सहमतिपत्रमा उल्लेख छ । यसैगरी एकीकृत पार्टीको झण्डा लोसपा नेपालको रहने सहमति भएको छ ।















प्रतिक्रिया दिनुहोस्