देशले सामना गर्नुपरेको संकटले चिन्तित तुल्याएको छ: पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं, २६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूको चाहना अनुसारै राजकाजबाट बाहिरिएको र अहिले देशले सामना गर्नुपरेको संकटले चिन्तित तुल्याएको बताएका छन् । शनिबार राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।

उनले झन्डै दुई दशकअघि आफु बाहिरिएको स्मरण गर्दै शान्ति ल्याउँछौँ, आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौँ र स्थायित्व दिन्छौँ भनेर सत्तामा पुगेका दलहरूको चाहना अनुसार श्रीपेच जनताकै सुरक्षित संरक्षित निकायमा बुझाएर सहयोगी नियतका साथ राजकाजबाट बाहिरिएको कुरा बताएका छन् । पूर्वराजा शाहले भने– ‘नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको करिब २ दशक बित्दा पनि देशले सामना गर्नुपरेको संकटले हामीलाई चिन्तित तुल्याएको छ ।’

उनले अहिले देश नै नरहने हुने हो कि भन्ने निराशा पैदा भएको बताउँदै आफू राजदरबारबाट बाहिरिएको करिब २ दशक बितिसक्दा समेत देशले संकट बेहोरिरहेको बताएका छन् ।

पूर्वराजा शाहले नेताहरूको भाषण र जादुले देश बन्न नसक्ने समेत बताएका छन् । उनले पृथ्वीनारायण शाहको योगदानबारे स्मरण गर्दै यो मुलुक राजाको मात्रै होइन, जनता र राजाको समान स्वामित्वको देश पनि हो भन्ने सन्देश दिन सफल भएको बताएका छन् । ‘आधुनिक नेपाललाई चार वर्ग ३६ जातको साझा फूलबारीको रूपमा चित्रण गरिबक्सेको थियो । यो मुलुक राजाको मात्रै होइन, जनता र राजाको समान स्वामित्वको देश पनि हो भन्ने सन्देश दिइबक्सेको थियो ।’

उनले सबै नेपालीलाई यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्न आह्वान समेत गरे ।
झन्डै दुई दशकअघि दलहरूको चाहना अनुसारै राजकाजबाट बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्