कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं, २६ पुस । निकै कठिन मोडमा पुगेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठक ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरुका साथै सातवटै प्रदेशका सभापतिहरुलाई बोलाइएको छ ।

महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाएर प्रक्रिया अघि बढाएपछि त्यसबारे निर्णय लिन बैठक बस्न लागेको स्रोतको भनाइ छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन् । विशेष महाधिवेशनको प्रचारप्रसारका लागि आज दिउँसो पदयात्रासमेत आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्