खेलकुद मन्त्री गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरिएको छैन: एनआरएनए अमेरिका

काठमाडौं, २५ पुस । गैरआवासीय नेपाली संघ अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको प्रस्ट पारेको छ । संघ विज्ञप्ति जारी गर्दै एनआरएनए अमेरिकाले कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना नगरिएको र खेलकुद मन्त्री गुप्तालाई आमन्त्रण नगरेको प्रस्ट पारेको हो ।

‘एनआरएनए अमेरिकाको नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिहरू भइरहेको भन्ने विश्वसनीय जानकारी प्राप्त भएको छ। यस्ता गतिविधिहरू एनआरएनए अमेरिकाको जानकारी, स्वीकृति तथा आधिकारिक निर्णय बिना केही व्यक्ति वा समूहहरूले संस्थाको नाम तथा वेबसाइटको दुरुपयोग गरी सञ्चालन गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा थप भनिएको छ– ‘एनआरएनए अमेरिका संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको एक आधिकारिक संस्था हो। संस्थाको नाम, इएनआइ तथा डिजिटल पहिचानको दुरुपयोग हुँदा गम्भीर कानुनी, आर्थिक तथा प्रतिष्ठासम्बन्धी जोखिम उत्पन्न हुने भएकाले यस विषयलाई अत्यन्त संवेदनशील र गम्भीर रूपमा लिइएको छ । संस्थासँग असम्बन्धित गतिविधिहरू एनआरएनए अमेरिकासँग जोडिएमा कानुनी जिम्मेवारीसमेत उत्पन्न हुन सक्ने भएकाले हामी यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न बाध्य भएका छौँ ।’

अनधिकृत गतिविधिहरूप्रति सचेत रहन र आधिकारिक जानकारीका लागि संस्थाका मान्य माध्यमहरूमा भर पर्न एनआरएनए अमेरिकाले अनुरोध समेत गरेको छ । यसले गर्दा मन्त्री गुप्ता विवादमा फसेको छ ।

प्रतिक्रिया दिनुहोस्