नेप्से ९.९३ अंक वृद्धि

काठमाडौ, २२ पुस । मंगलबार सेयर बजारको परिसूचक नेप्से ९.९३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २६४९ अंकमा पुगेको छ ।

आज बजार केही उतारचढावमा देखियो । कारोबार सुरु भएपछि नै बढेको नेप्से ११ स् ५७ बजे २६६२ अंकसम्म पुगे पनि त्यसपछि दिनभर कुनै पनि समय सो अंकभन्दा माथि जान सकेन ।

कारोबार रकम बढेको छ । अघिल्लो दिन ६ अर्ब ४७ करोडको कारोबार भएकोमा आज ७ अर्ब १२ करोडको भएको छ । यो रकम एक महिनायताकै उच्च हो । कुल १४८ कम्पनीको मूल्य बढ्दा १०३ को घट्यो भने ८ को स्थिर रह्यो ।

यस दिन फाइनान्समा कारोबारीको आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै २।८७ प्रतिशत बढ्यो । हिजो उत्पादन तथा प्रशोधन सबैभन्दा धेरै ३ प्रतिशत बढेको थियो । आज भने सो समूह ०।५१ प्रतिशत घट्यो । त्यस्तै होटल तथा पर्यटन समूह ०।२३ प्रतिशत घट्यो ।

बैंकिङ ०।४३, विकास बैंक ०।७९, हाइड्रोपावर ०।१३, लगानी ०।३२, जीवन बीमा ०।०४, माइक्रोफाइनान्स ०।८४, निर्जीवन बीमा ०।१२, अन्य ०।७७ तथा व्यापार ०।५४ प्रतिशत बढे ।

जीवन विकास लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ९।५४, जानाकी फाइनान्सको ५।८३, गुडविल फाइनान्सको ५।४६ तथा एसवाई प्यानलको ५।४३ प्रतिशत मूल्य बढ्यो ।

रुरु जलविद्युतको मूल्य सबैभन्दा धेरै ८।४१ प्रतिशत घट्यो । ट्रेड टावरको ६।२६, सान्भी इनर्जीको ५।६१, बन्दीपुर केबुलकारको ५।४२ तथा श्रीनगर एग्रिटेक कम्पनीको ५।१६ प्रतिशत घटे ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा एसवाई प्यानल, बुटवल पावर, शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार र मञ्जुश्री फाइनान्स छन् ।

प्रतिक्रिया दिनुहोस्