पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का हिमपात र तराइमा हुस्सु, कुहिरो, शितलहर

काठमााडैं, १८ पुस । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने र केही प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु रहने महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन तथा दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्