कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ३ बजे बस्दै

काठमााडैं, १८ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते दुई दिन काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेका छन् । भृकुटीमण्डपको हल समेत बुकिङ गरिसकिएको नेताहरुले बताएका छन् ।

त्यसको जानकारी पाएपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल समेत गरेका थिए । लगत्तै पार्टीभित्रको परिस्थितिबारे छलफल गर्न देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका नेताहरुले बताएका छन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ ।

यसअघि कांग्रेस केन्द्रीय समितिले पुस २६ गतेदेखि२९ गतेसम्मको लागि १५ औं महाधिवेशन गर्ने गरी नियमित महाधिवेशनको कार्यतालिका तय गरेको थियो । त्यसअनुसार वडा र पालिका अधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन बोलाएका हुन् । यसले पार्टीमा विशे्ष परिस्थिति बनाएको छ । आजको बैठकले के निकास देला भन्ने सबैको चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्