मौलिक संस्कार, संस्कृति र परम्परा सन्ततिलाई हस्तान्तरण गर्दै जानुपर्छ: प्रधानमन्त्री कार्की

काठमाडौं, १७ पुस । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई पनि मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेका छन् ।

मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा
आज नेपाल मगर संघको एक प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राखेकी हुन् ।

संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको अध्यक्षतामा आएको टोलीले प्रधानमन्त्री कार्कीलाई आउँदो माघे संक्रान्तिमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन निम्ता पनि दिएको छ ।

निमन्त्रणा प्रदान गर्न टोली आफ्नो परम्पराअनुसार सगुनसहित बालुवाटार आएको थियो ।

सांस्कृतिक पहिचान झल्किने गरी परम्परागत पोशाकमा आएको टोलीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले भने, ‘अब राजनीति होस् या सांस्कृतिक फाँटमा किन नहोस्, युवालाई नै अघि सार्नुपर्छ । विविध मौलिक परम्परा र संस्कृति हाम्रा अमूल्य निधि हुन् । तिनको जगेर्ना गर्दै नयाँ पिँढीलाई हस्तान्तरण गर्दै जानुपर्छ ।’

टोलीमा संघका पदाधिकारी, कलाकार तथा जेनजी अभियन्ताहरु पनि सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्