देशभर पश्चिमी वायुको आंशिक प्रभाव, बादल लाग्ने र चिसो अझै बढ्ने

काठमाडौं, १७ पुस । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । यसको प्रभावले बादल लागेको छ । बादलको प्रभाव पश्चिम नेपालमा बढी र पूर्वी नेपालमा कम देखिएको छ ।

यसले गर्दा केही चिसो बढ्ने र उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना छ । तराई मधेश र पहाडी खोँचहरुमा देखिएको हुस्सु कुहिरो पनि हल्का कम हुने सम्भावना छ । तर प्रणाली ठूलो नभएकाले धेरै सुधार भने नदेखिने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी वायुको प्रभावले विशेषगरी देशका पश्चिमी भू–भागहरूमा मौसममा परिवर्तन आएको छ ।

उनका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदलीको अवस्था छ । अन्य प्रदेशहरूमा भने मौसम सामान्यतया सफा नै छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै कोशी प्रदेशका समेत उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद लामिछानेले जानकारी दिए ।

तराईरमधेशका क्षेत्रहरूमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने छ । पश्चिमी वायुका कारण बादल लाग्दा पश्चिम तराईका क्षेत्रमा लागेको हुस्सु केही हट्न सक्ने अनुमान गरिएको छ । यद्यपि, यो प्रणाली कमजोर रहेकाले कुहिरो पूर्ण रूपमा हट्ने निश्चित भने नरहेको मौसमविद लामिछानेले बताए ।

काठमाडौं उपत्यकामा पनि आज बादल लाग्ने सम्भावना छ । हिजो–अस्तीको तुलनामा आज बादल केही बढे पनि वर्षाको सम्भावना भने नरहेको मौसमविदको भनाइ छ ।

आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ । आज अधिकतम तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

पश्चिमी वायुको प्रभावले बादल लाग्ने र चिसो अझै बढ्ने मौसमविद्को भनाइ छ । ‘पश्चिमी वायुको प्रभावले बादल लाग्दा घाम कम लाग्ने र यसले जाडो महिनाको चिसोलाई केही बढाउने देखिन्छ,’ मौसमविद लामिछानेले भने ।

यो प्रणाली धेरै बलियो नभएकाले देशव्यापी रूपमा ठूलो असर भने पर्ने छैन । तर हिमाली भेगमा यात्रा गर्नेहरु र तराईमा शीतलहरको सामना गरिरहेका नागरिकहरूलाई भने सतर्कता अपनाउन सुझाव दिइएको छ ।

केही दिनयता तराई मधेशका जिल्लाहरुमा हुस्सु कुहिरो लाग्ने र तपपत शीत चुहिने गर्दा जनजीवन प्रभावित भएको छ । हवाई र सडक यातायात पनि प्रभावित भएको छ । चिसो अत्यधिक बढेका कारण पालिकाहरुले विद्यालय बन्द गरेका छन् । स्थानीय सरकारको पहलमा चोकचोकमा दाउरा वितरण गरी आगो ताप्ने प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्