राजा वीरेन्द्र शाहको ८१औं जन्मजयन्ति भव्य रुपमा सम्पन्न
काठमाडौं, १४ पुस । राजा वीरेन्द्र शाहको ८१औं जन्मजयन्ती भव्य रुपमा सम्पन्न भएको छ ।
आज स्वर्गीय राजा शान्ति प्रतिष्ठानसहित विभिन्न संघ/संस्थाको आयोजनामा राजा वीरेन्द्र विरविक्रम शाहदेवको ८१औं जन्मजयन्तीकोे अवसरमा ललितपुरको जवलाखेल स्थित राजा वीरेन्द्रको शालीक तथा तस्बीरमा माल्यार्पण गरि मनाईएको हो ।
विश्वमा आशान्ति र देशमा राजनीतिक ध्रुविकरण बढ्दै गएको अवस्थामा देशमा स्थायी शान्तिको कामना सहित राजा वीरेन्द्रको शासन कालमा भए/ गरेका योगदानको चर्चा गरिएको छ ।
राजा वीरेन्द्रले नेपाल र नेपाली जनताप्रतिको ठूलो योगदान रहेको प्रतिष्ठानका अध्यक्ष शिबहरि खनालले बताए । उनले राजा वीरेन्द्र सरल, शालीन र जनताप्रति संवेदनशील राजा भएको चर्चा गर्दै राजा वीरेन्द्रले जनताको जीवनस्तर उकास्न र राष्ट्रिय एकता सुदृढ गर्न विभिन्न विकास परियोजनाहरूको सुरुवात गरेको बताए । वीरेन्द्रले क्षेत्रीय विकासको अवधारणाले देशको समग्र विकासमा योगदान पु¥याएको र उनको शासनकालमा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रमा महत्वपूर्ण प्रगति भएको अध्यक्ष खनालेले बताए । राजा वीरेन्द्रको शासनकालका नेपालको प्रशासनीक, शान्ति र कुटनीतिक विस्तारमा ठूलो उपलब्धिहरु भएको अध्यक्षको खनालेले बताए ।
यस्तै सचिव रञ्जित धमलाले सन् १९७३ राजा वीरेन्द्रबाट नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव भएको बताउँदै सो प्रस्तावबाट नेपाललाई अन्तर्राष्ट्रिय द्वन्दबाट टाढा राख्दै शान्ति र स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनामा पनि राजा वीरेन्द्र योगदान रहेको बताए । वि.स. २०४६ जनआन्दोलनको मागलाई स्वीकार्दै राजा वीरेन्द्रले बहुदलीय प्रजातन्त्र पुनःस्थापना गरि नेपालको लोकतान्त्रिक यात्रालाई नयाँ दिशा अवलम्बन गर्न सो कदमले सहयोग पुगेकोले उनको जनताप्रतिको संवेदनशीलता र प्रजातन्त्रप्रतिको सम्मान थियो भन्ने दर्शाएको बताए ।
राजा वीरेन्द्रले नेपाल अधिराज्यको संविधान २०४७ को घोषणास् नयाँ संविधानमार्फत नेपाललाई संवैधानिक राजतन्त्र र प्रजातान्त्रिक शासन प्रणालीमा प्रवेश गराउन राजा वीरेन्द्रको भूमिका महत्वपूर्ण छ ।
समाजसेवी कमला पौडेलले शान्तिप्रिय तथा विकासवादी राजा वीरेन्द्रले विश्व समुदायमा नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव गरेको कार्य सराहना गर्दै उहाँलगायत परिवारको रहस्यमय हत्याले समग्र नेपालीलाई चिन्तित बनाएको बताए ।
प्रध्यापक यादव ढुंगानाले सरल स्वभावका वीरेन्द्रलाई जनप्रेमी तथा देशभक्त राजाका रुपमा चित्रण गर्नुपर्नेमा जोड दिनुभयो।
प्रतिष्ठानले राजा वीरेन्द्रको योगदान र उहाँप्रतिको सम्मानलाई जीवित राख्न, उहाँको जन्मजयन्ती तथा पुण्यतिथिमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
















प्रतिक्रिया दिनुहोस्