रवि, बालेन र कुलमान एकता प्रयास जारी, मिल्न जेन-जीको दवाव

काठमाडौं, १४ पुस । रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार मध्यरातसम्म भएको एकता वार्ता विफल भए पनि सहमतिमा पुग्ने प्रयासमा आज पनि छलफल भने जारी छ ।

‘आज निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने अन्तिम दिन हो, त्यसको समयसीमालाई ख्याल गर्दै कुलमानसँग आज पनि सहमतिको प्रयास हुन्छ,’ एक नेताले भने ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग पनि कुलमान पक्षबीच एकता वार्ता भए पनि त्यसमा पनि खास प्रगति नभएको स्रोत जनाएको छ । कुलमानलाई दिने पदमा मिलेन कुरा मिलेको छैन । रवि, बालेन र कुलमानबीच एकताको प्रयासमा केही दिन अगाडिदेखि नै हुँदै आएको थियो । तर कुलमानसँगको छलफलमा प्रगति नभएपछि आइतबार बिहान रवि र बालेनबीच एकताको सात बुँदे सम्झौता भएको थियो ।

जेनजी युवा अगुवाहरुले कुलमानसँग पनि मिल्न दबाब सिर्जना गरेपछि उनीसँगको छलफलले आइतबार पनि निरन्तरता पाएको थियो । तर पार्टीमा कुलमानलाई कुन पद दिने भन्ने विषयमा कुरा नमिलेपछि उनीहरु छुट्टिएका थिए । कुलमानलाई मिल्नका लागि दबाब दिन केही जेनजी युवाहरु मध्यराति पनि कुलमानको घरसम्मै पुगेका थिए ।

उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यले पार्टीमा सहअध्यक्ष पाउनुपर्ने वा प्रधानमन्त्री आलोपालो हुनुपर्ने आफूहरुको मागमा रवि–बालेन तयार नभएकाले सहमति नजुटेको बताए ।

प्रतिक्रिया दिनुहोस्