सरकारी टोलीले गरे राप्रपाको केन्द्रीय कार्यालयको अनुगमन, निर्वाचनको तयारी गर्न आग्रह

काठमाडौं, ९ पुस । सरकारी टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टीको (राप्रपा)को केन्द्रीय कार्यालयको अनुगमन गरेको छन्। सरकारका मन्त्रीसहितको प्रतिनिधिमण्डल पार्टी कार्यालय धुम्बाराही पुगेर आसन्न निर्वाचनलगायतका विविध विषयमा सरकारले गरिरहेको प्रयासबारे जानकारी गराएका हन् ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री अनिल सिन्हाको संयोजकत्वमा गठित अनुगमन समितिले पार्टी कार्यालयको अनुगमनसँगै भेटवार्ता गरेको हो। कानुनमन्त्रीसहित सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल पनि सहभागी थिए।

अनुगमनको क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगको भेटमा सरकारी टोलीले निर्वाचनको वातावरण बनाउन, आवश्यक तयारीलाई तीव्रता दिन सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी गराएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

निर्वाचन आयोग निर्वाचनका लागि तयारी गरिरहेको, भयरहित वातावरणमा निर्वाचन गर्न सुरक्षा संयन्त्र सक्षम रहेको विषयमा आश्वस्त तुल्याउने प्रयास सरकारी टोलीबाट भएको उनले बताए।

राप्रपाले निर्वाचन अगावै नवीन समझदारीको फराकिलो राजमार्गमा मुलुकलाई लैजानुपर्ने विषयमा आफ्नो धारणा सरकारलाई पुनःस्मरण गराएको उनले बताए। अध्यक्ष लिङ्देनले प्रजातान्त्रिक दलको रूपमा राप्रपाले चुनावको सदुपयोग गर्ने विषय समेत उल्लेख गरे।

 

प्रतिक्रिया दिनुहोस्