कांग्रेसको क्रियाशील सदस्यता वितरणमा समय अभाव, विकट जिल्लामा के होला ?
काठमाडौं, ८ पुस । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नवीकरणका लागि दिइएको समय सकिएको ७ दिनपछि ९ दिन समय थप गर्ने सहमति भएको छ । पार्टी केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले नवीकरणका लागि मंसिर २४ गतेसम्मको समय दिएको थियो । त्यो समयमा नसकिने भएपछि क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजकका हैसियतमा महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको निर्णय परिवर्तन गरेर मंसिर मसान्तसम्म सक्ने निर्णय गरेका थिए ।
तर, त्यो समय सकिएको ७ दिनपछि सोमबार राति बसेको समितिको बैठकले ९ दिन अर्थात पुस ९ गतेसम्म थप गर्ने सहमति भएको हो । समिति सदस्य सीता गुरुङले पुस ९ गतेसम्म सक्न भन्ने सहमति बनेको तर निर्णय नै नभएको बताइन् । ‘९ गते मध्यान्हसम्म सक भन्ने सहमति भएको हो । निर्णय भएको छैन,’ गुरुङले भनिन्, ‘केही जिल्लाबाट अझै आउन बाँकी छ ।’
नवीकरणमा सबैभन्दा बढी मधेस प्रदेशमा समस्या देखिएको व्यवस्थापन समितिका सदस्यहरू बताउँछन् । त्यस्तै खोटाङमा सभापति विष्णु राईमाथि अनुशासनको कारबाही भएकाले प्रक्रिया नै सुरु भएको छैन । सदस्यहरूका अनुसार कर्णाली प्रदेशका कालिकोटसहितका दुई जिल्ला, प्यूठान, काठमाडौँ, कास्कीमा पनि नवीकरणमा समस्या देखिएको छ । सोलुखुम्बुमा भौगोलिक विकटताका कारण समस्या भइरहेको स्रोत बताउँछ ।
नयाँ क्रियाशील सदस्यताको फारम वितरण गर्ने समय पनि पुस १० गतेसम्म राख्ने सहमति समितिमा बनेको छ, यद्यपि निर्णय भने भएको छैन ।
विदेशस्थित जनसम्पर्क समितिमा जनसम्पर्क सदस्यता, नवीकरण वा नयाँ क्रियाशील कसैले नभएको भए अनलाइनमार्फत गर्न सक्ने व्यवस्था मिलाउने समितिमा सहमति बनेको छ ।
कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको छ । त्यस्तै समितिमा १३ औँ महाधिवेशनमा पार्टीको क्रियाशील सदस्य रहेका तर, १४ औँ महाधिवेशनमा नवीकरण नगरी अन्य कुनै पार्टीमा नगएको भएमा केन्द्रमा रिटपूर्वक निवेदन दिएमा तल्ला तहको सिफारिसमा सदस्यता दिने पनि सहमति बनेको नेताहरूले बताउँछन् ।
यसले गर्दा काँग्रेसको महाधिवेशन तोकिएकै समयमा हुने आशंका छ ।















प्रतिक्रिया दिनुहोस्