जसपाका रामआशिष यादव मधेश प्रदेशको सभामुखमा निर्वाचित

काठमाडौं ६ पुस । मधेश प्रदेशको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव निर्वाचित भएका छन् ।
आइतबार (आज) बसेको मधेश प्रदेशसभा बैठकमा मत विभाजन प्रक्रियामार्फत यादव सभामुख निर्वाचित भएका हुन् ।

मत विभाजन गर्दा उनको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको थियो । प्रदेशसभा बैठकमा जम्मा ९६ सांसद उपस्थित भएका थिए । सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले गरेका थिए ।

प्रदेशसभामा बहुमत ५४ भन्दा बढी मत ल्याएका यादवलाई सभामुखको आसनमा बसेकी उपसभामुख बबिता राउत इशरले निर्वाचित भएको घोषणा गरेकी हन् ।

सुरुमै यादवको प्रस्ताव बहुमतले पारित भएपछि सभामुखका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकीप्रसाद यादवको प्रस्ताव अघि भने बढेन ।

सभामुख बनेका यादव धनुषा(२ (ख)बाट दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले जसपा नेपालको प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए । अब उनी मधेशको नीति निर्माण हुने प्रदेशसभाको सभामुख पदमा पुगेका छन् ।

शिक्षक र पत्रकारिताबाट राजनीतिक नेतृत्वसम्मको यात्रा तय गरेका यादवको जन्म २०२६ साल चैत १५ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिका(१७, साविक कनकपट्टी गाविसमा भएको हो । उनी स्वर्गीय रामलखन यादव र दौलतिया देवीका १० सन्तानमध्ये कान्छा छोरा हुन् । कृषक पेसामा संलग्न उनका बुबाका ९ छोरा र १ छोरी थिए ।

प्रतिक्रिया दिनुहोस्