अध्यक्ष साङ्पाङले अर्का उपाध्यक्ष डा. परियारलाई पनि कारबाही गरे

काठमाडौं, ६ पुस । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङ्पाङले पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका छन् । शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर साङपाङसहित परियारले पनि सभामा सम्बोधन गरेका थिए ।

‘श्रम संस्कृतिमा कोही सानो कोही ठूलो हुँदैन, आज उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलीका कारण आचारसंहिता उलङ्घन भएकोले नसच्चिएसम्म कारबाही गरिएको साङपाङले सामाजिक सन्जालबाट सार्वजनिक गरेका छन् ।

उद्घोषकले सम्बोधनका लागि आग्रह गरेपछि बोल्न पुगेका उपाध्यक्ष डा. परियारले आयोजकको व्यवहार ठीक नभएको भन्दै खनिएका थिए । ‘कार्यक्रम आयोजकहरूले अलिकति मिस्टेक गर्नुभएको छ,’ परियारले भनेका थिए, ‘ध्यान यता, मन यता हुन सक्दैन । म केन्द्रीय उपाध्यक्ष हो । म पनि बोल्न पाउनुपर्छ । ध्यान अन्त मोड्न हुँदैन ।’

परियारले सभामा आफूलाई प्रमुख अतिथिभन्दा अगाडि नै बोल्न नदिइएको भन्दै आयोजकसँग सार्वजनिकरुपमै असन्तुष्टि जनाएका थिए । साङपाङले कस्तो कारबाही भएको भन्ने स्पष्ट खुलाएका छैनन् । बुटवलको ट्राफिक चोकमा शनिबार आयोजित सभामा स्वागत मन्तव्य लगत्तै प्रमुख अतिथिको रुपमा पार्टी केन्द्रीय अध्यक्ष साम्पाङले सम्बोधन गरेका थिए ।

अध्यक्ष साम्पाङले सम्बोधन गरेपछि टीका लगाउने र पार्टी प्रवेश कार्यक्रम शुरु भएको थियो । त्यही समयमा उद्घोषकले उपाध्यक्ष डा. परियारलाई सम्बोधन गर्न आमन्त्रण गरेका थिए । उनले सम्बोधन गर्ने बेला सबैको ध्यान अध्यक्ष साम्पाङसङ्ग टीका लगाउन र फोटो खिच्न केन्द्रित भएपछि उनी आक्रोशित भएका देखिन्थे।

डा. परियारले आक्रोशित हुँदै भनेका थिए, ‘म केन्द्रीय उपाध्यक्ष हु, मैले बोल्न पाउनुपर्छ, ध्यान अर्कोतिर मोडिनु हुदैन, यति भन्नु पाप हो त ? अपराध हो त ? भन्दै टीका लगाउने र पार्टी प्रवेशको कार्यक्रम रोक्नु पर्छ ।’ उनले आयोजकले गल्ती गरेको भन्दै परियारले समीक्षा गर्न पनि भनेका थिए ।

परियारले आफू २ दिनदेखि बुटवल आएर मेहनत गरेको भन्दै परियारले सेड्युल नमिलेको जस्तो लागेको बताएका थिए । ‘म सम्बोधन गर्न चाहन्छु, तर अलिकति सेड्युल नमिलेको जस्तो लाग्यो र यसमा यहाँको जिल्ला टिमले आयोजक कमिटीले आत्मासमीक्षा गरोस् भन्ने म क्यामरामै अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

उनले सम्बोधनको क्रममा आक्रोश मात्रै पोखेनन्, सम्बोधनपछि आयोजक कमिटीका सहसंयोजकलाई अपशब्दसमेत बोलेको जानकारी आएपछि अध्यक्ष साम्पाङले आचारसंहिता उल्लंघन गरेको जनाएका छन् ।

यसअघि पार्टीका अर्का उपाध्यक्ष कारबाहीमा परिसकेका छन् । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई पार्टीले निलम्बित गरि कारबाही भइसकेको छ ।

ज्ञ

प्रतिक्रिया दिनुहोस्