पूर्वप्रधानमन्त्रीलाई स्थानहद तोकेर कस्तो निर्वाचन गर्न खाजेको भन्दै सरकारलाई नेता कोईरालाको पश्न
काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिएर कस्तो चुनाव गर्न खोजेको भन्दै सरकारसँग प्रश्न गरेका छन् ।
मोरङको विराटनगर महानगरपालिका–६ मा शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले अन्तरिम सरकारले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद लगाइएको प्रति आपत्ति जनाएका हुन् ।
‘देशको पूर्वप्रधानमन्त्री भइसकेको व्यक्ति, पार्टीको प्रमुख व्यक्तिलाई उपत्यका बाहिर जान नपाइने भनेको छ । अनि सरकार अर्कोतिर के भन्दै छ भने म चुनाव गराउँछु,’ कोइरालाले आश्चर्य प्रकट गर्दै भने, ‘यो कस्तो चुनाव गर्न खोज्दै छ ।’
कांग्रेसले विगतमा भएका चुनावजस्तै आगामी प्रतिनिधिसभा निर्वाचन होस् भन्ने चाहेको उनले बताए । ‘पहिले जसरी चुनाव हुन्थ्यो, त्यसरी चुनाव होस् र सबै राजनीतिक दलहरूले भाग लिउन् भन्ने हाम्रो चाहना हो,’ कोइरालाले भने, ‘नेपाली कांग्रेसले त निर्णय नै गरेको छ, हामीहरू चुनावमा जान्छौं भनेर ।’
नेता कोइरालाले निर्वाचनमा जानका लागि सरकारले वातावरण बनाउनुपर्नेमा पनि जोड दिए । ‘जुन सरकारले गर्नुपर्ने, सरकारले दिनुपर्ने हो, त्यो दिनुपर्यो चुनावमा जानको लागि । कैदीहरू जुन फरार छन्, पाँच हजारभन्दा बेसी कैदीहरू आजको दिन पनि फरार छन्,’ उनले भने, ‘सार्प सुटरहरू फरार छन्, तिनीहरूलाई फेरि समातेर जेलमा हाल्नुपर्यो । सँगसागै पाँच–सात सय हतियारहरू लुटिएका छन्, पुलिसका ती हतियार पनि लिनुपर्यो । सरकार त्यतातिर ध्यान दिइराखेको छैन ।’















प्रतिक्रिया दिनुहोस्