अध्यक्षका प्रत्याशी ओली र पोखरेलले गरे मतदान, दुबैलाई भोट हाल्न ४० मिनेट लाग्यो
काठमाडौं, २ पस । काठमाडौंको भृकुटिमण्डपमा जारी नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थल पुगेसँगै मतदान सुरु भएको हो । ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले मत हालेर सुरु गरेका हुन् । ओलीले ७७ नम्बरको मेसिनबाट भोट हालेका हुन् भने पोखरेलले ७६ नम्बरको मेसिनबाट ।
मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो ।
बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी मतदान सुरु भएको छ । प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसेका थिए ।
अहिले विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट भइरहेको मतदानमा २२६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।
अध्यक्षका उम्मेदवार ओली र पोखरेललाई मतदान गर्न ४० मिनेट लागेको छ । महासचिवका उम्मेदवार पोखरेल र सुरेन्द्र पाण्डेले पनि त्यत्ति नै समय लगाएको प्राविधिकहरुले जानकारी दिए ।
मतदानको सुरुवात शीर्ष नेताहरुले गरेका थिए । ओली र पोखरेल लगायतका नेताहरु सँगै मतदान गर्न गएका थिए ।
शीर्ष नेताहरुले मतदान सुरु गरेपछि अन्य प्रतिनिधिहरुले भोट खसालिरहेका छन् । उनीहरु भोट खसाल्न लामबद्ध भएर पालो कुरिरहेका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले भोट मागिरहेका छन् ।
नयाँ नेतृत्वका लागि ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
नयाँ नेतृत्वमा केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा छन् । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।
मतदान भइरहँदा प्रत्याशीहरुले प्रतिनिधिहरुसँग मत मागिरहेका छन् भने प्रतिनिधिहरुले पनि आफूले रुचाएका उम्मेदवारको प्रचारप्रसार गरिरहेका छन् ।















प्रतिक्रिया दिनुहोस्